अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा सहभागी हुने ८ टिमको टुङ्गो लाग्यो,सिरिजङ्गा मेला समेत हुँदै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकमा मंसिर २३ गते देखि हुने अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपमा सहभागी हुने ८ टिमको टुङ्गो लागेको छ ।
आयोजक तेल्लोक स्पोर्टिङ क्लवले शुक्रवार पत्रकार सम्मेलनमार्फत गोल्डकपमा सहभागी टिमको नाम सार्वजनिक गरेको हो । मंसिर २३ देखि २९ गते सम्म तेल्लोकमा अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपका साथ सिरिजङ्गा मेलाको आयोजना गरिएको छ । तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईका अनुसार गोल्डकपमा भारतको एकसहित कोशी प्रदेशका प्रतिष्ठित फुटबल क्लव सहभागी हुने छन् ।
भट्टराईका अनुसार गोल्डकपमा पारिजात संघ फुटबल क्लव,सिलिगुढी(भारत),बद्ररहुड फुटबल क्लव,बेलका(उदयपुर),न्यू स्टार फुटबल क्लव(झापा), मरिक फुटबल क्लव(धरान,सुनसरी),सिरिजङ्गा स्पोर्टिङ क्लव(मोरङ),साँगुरीगढी फुटबल क्लव(धनकुटा),वाइवाई पाँचथर फुटबल क्लव(पाँचथर) र तेल्लोक स्पोर्टिङ क्लव,तेल्लोक(ताप्लेजुङ) सहभागी हुनेछन् । तेल्लोक स्पोर्टिङ क्लवले आयोजक हुँदै ताप्लेजुङको प्रतिनिधित्व गर्ने छ ।
अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको चौथो संस्करणको बिजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र तथा उपबिजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । गोल्डकपमा बिधागत पुरस्कार समेतको प्रवन्ध गरिएको तेल्लोक स्पोर्टिङ क्लवका सहसचिव सुमन भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार बिधागत पुरस्कारतर्फ प्रत्येक खेलमा उत्कृष्ट खेल खेल्ने एक जनालाई नगद २ हजार १ सय रुपैयाँका साथ ‘म्यान अफ द म्याच’ प्रदान गरिने छ । यस्तै सर्बोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ४–४ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ । सहभागी टिममध्ये सबैभन्दा अनुशासित र मर्यादित खेल खेल्ने एकटिम तथा उत्कृष्ट व्यवस्थापक र उत्कृष्ट प्रशिक्षकलाई समेत समापनको दिन सम्मान गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
क्लवका अध्यक्ष भट्टराईका अनुसार २०७८ सालबाट आमन्त्रण सिरिजङ्गा गोल्डकप हुँदै आएको थियो । चौथो संस्करण मानिएको यसपटकको प्रतियोगिताबाट अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु हुन लागेको उहाँले जानकारी दिनुभयो । सो भन्दा अघि तेल्लोक गोल्डकप सञ्चालन हुने गरेको थियो । आमन्त्रण तथा अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु हुनुपूर्व सिरिजङ्गा मेला तथा सो अवसरमा प्रतियोगितात्मक तथा मैत्रीपूर्ण खेल गतिविधि हुने गरेका थिए । अहिले भने अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप र सिरिजङ्गा मेला एकसाथ सञ्चालन हुने समेत भट्टराईले बताउनुभयो ।
खेलकुदका माध्यमबाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र तेल्लोकको पहिचान स्थापित गर्ने,यो क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार–प्रसारमा योगदान पुर्याउने,खेलप्रति स्थानीय समुदायको आर्कषण बढाई युवाहरुमा खेल मोह जागृत गराउने उद्देश्यका साथ गोल्डकप र मेलाको आयोजना गरिएको समेत उहाँले जानकारी दिनुभयो । तेअङ्सी सिरिजङ्गा स्मृति संस्था गोल्डकप तथा मेलाको मुख्य संरक्षक रहेको छ ।
त्येअङ्सी सिरिजङ्गासिंह थेबेले पु¥याएको योगदानको सम्मान तथा स्मरण गर्दै उहाँका योगदानहरुको प्रचार–प्रसार गरी सामाजिक जागरणमा नयाँ आयाम स्थापित गर्न समेत गोल्डकप तथा मेला महत्वपूर्ण सावित हुने तेल्लोक स्पोर्टिङ क्लवले विश्वास लिएको छ । सिरिजङ्गासिंह थेबेलाई किराँत लिम्बू लिपिका प्रचारक,सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता,जातीय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् प्रकाण्ड विद्धान मानिन्छ ।
सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ । पत्रकार सम्मेलनमार्फत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो(गणेश),एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ,माओवादी केन्द्रका जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग),लाखेजात्रा सञ्चालन समिति अध्यक्ष देवराज गुरुङ सहितले गोल्डकप तथा मेला सफलताको शुभकामना दिनु भएको छ ।