ताप्लेजुङ बाहिरका व्यक्ति अब पाथीभरा क्षेत्रमा तीर्थालु सहयोगी(भरिया)बन्न नपाउने,उमेर हद समेत लागु गरिदैं
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १६ । ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरका तीर्थालु सहयोगी(भरिया)का लागि जिल्ला बाहिरकालाई अनुमति नदिइने भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा भएको सरोकारवालाको संयुक्त छलफलले तीर्थालु सहयोगी व्यवस्थापन कार्यविधि निर्माण गर्ने सहितका ८ बुँदे कार्यविधि कार्यान्वयनमा ल्याउने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । पाथीभरा क्षेत्र विकास समिति,फुङलिङ नगरपालिका,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र तीर्थालु सहयोगीका प्रतिनिधि समेतको सहभागिताका भएको छलफल उक्त निश्कर्षमा पुगेको समेत थेबेले जानकारी दिनुभयो । अध्यक्ष थेबेका अनुसार अब उप्रान्त ताप्लेजुङ जिल्ला बाहिरका व्यक्तिले तीर्थालु सहयोगी(भरिया)को जिम्मेवारी पाउने छैनन् ।
तीर्थालु सहयोगीको तीनपुस्ते विवरण खडा गरी राखिने छ भने उहाँहरुको बीमा समेत गरिने भएको छ । तीर्थालु सहयोगीको उमेरको हदबन्दी समेत राखिने भएको छ । उक्त बिषय कार्यविधिमार्फत व्यवस्थापन गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो । यस्तै तिर्थालुहरुको नियमित स्वास्थ्य परीक्षण गरिने छ भने उहाँहरुका लागि आधिकारिक पोशाक समेत लागु गरिने छ । अब किलोमिटरका आधारमा मान्छे र सामान बोकाईको पारिश्रमिक निर्धारण गरिने छ । सरसमान तथा तीर्थयात्री बोक्नका लागि तीर्थालु सहयोगीलाई आवश्यक सामाग्रीको प्रवन्ध समेत गरिने भएको छ ।