ताप्लेजुङमा १२ जना सक्रिय क्षयरोगी थपिए,पिबिसीको सम्पर्कमा रहेकाहरुलाई लक्षण देखिए औषधि खुवाइने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १२ । चालू आर्थिक बर्षको यो अवधिमा ताप्लेजुङमा १२ जना सक्रिय क्षयरोगी फेला परेका छन् । अघिल्लो आव २०८०।८१ मा ताप्लेजुङमा ३९ जना सक्रिय क्षयरोगी फेला परेका थिए ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार क्षयरोगीको खोज पड्ताल कार्य भने जारी रहेको छ । खकार जाँच गर्दा माइक्रोस्कोप तथा जिन एक्सपोटमा क्षयरोगको ब्याक्टेरिया फेला परेको अवस्थालाई सक्रिय क्षयरोगी (पिबिसी)भनिन्छ । छातिको एक्स–रे जाँचको क्रममा टिवी पत्ता लागेको अवस्थालाई पिसिडी भनिन्छ । अघिल्लो आवमा पिसिडी भएका रोगीको संख्या ११ थियो । छाति बाहेक अन्य जुनसुकै अंगबाट परीक्षण गर्दा क्षयरोग पत्ता लागेको अवस्थालाई ईपी भनिन्छ । अघिल्लो आवमा यस्ता रोगीको संख्या १३ थियो ।
क्षयरोगीको खोज पड्ताल जारी रहेकोले स्वास्थ्य कार्यालयले पिबिसी बिरामीको सम्पर्कमा रहेका व्यक्तिहरुलाई अनिवार्य रुपमा सम्पर्क परीक्षण गर्ने कार्य अघि बढाउने भएको छ । दुलालका अनुसार पिबिसी बिरामीको सम्पर्कमा रहेका व्यक्तिहरुको सम्पर्क परीक्षणका क्रममा सक्रिय टिवी भए नभएको यकिन गरिने भएको छ । सक्रिय टिवी भएको पत्ता लागेमा टिपिटीको औषधि खुवाउने कार्य सुरु गरिने समेत दुलालले जानकारी दिनुभयो । यो व्यवस्थाका लागि स्वास्थ्य निर्देशनालय धनकुटाले यसअघि नै मातहतका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार समेत गरिसकेको उहाँले जानकारी दिनुभयो ।
सूचना अधिकारी दुलालका अनुसार यसअघि सक्रिय क्षयरोगी(पिबिसी)को सम्पर्कमा रहेका ५ बर्ष मुनिका बालबच्चालाई मात्र टिपिटीको औषधि खुवाउने प्रवन्ध रहेकोमा अहिले पिबिसीको सम्पर्कमा रहेका सबै उमेर समूहका बिरामीलाई टिपिटीको औषधि खुवाइने छ । यसका लागि सबैभन्दा पहिला क्षयरोगीको खोपड्ताल कार्यलाई तीव्र गतिमा अघि बढाउन आवश्यक रहेको भन्दै स्वास्थ्य कार्यालयले टिवीको लक्षण भएका व्यक्तिहरुको जानकारी लिनेदिने कार्यमा सहयोग गर्न सबैलाई आवह्वान समेत गरेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार टिपिटीको औषधि खुवाउने कार्य सुरु गर्नुअघि सक्रिय क्षयरोगीको खोजी गर्नु अनिवार्य हुने छ । त्यसपछि सक्रिय क्षयरोगीको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु पत्ता लाग्ने छन् । त्यसका लागि स्वास्थ्य कार्यालयले क्षयरोगीको खोज पड्ताल कार्यलाई तीव्रता दिने निर्णय लिएको हो ।
क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरुवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका माध्यमबाट सर्ने गर्छ । खाना तथा यौनजन्य क्रियाकलापबाट भने यो रोग सर्दैन । क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने यो रोग लाग्दैन । रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ।
दुई साता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु,शरीरको तौल घट्नु र खासगरी बेलुकापख ज्वरो आउनु,छाति दुख्नु,खाना अरुचि हुनु र खकारमा रगत देखिनु जस्ता लक्षण भए क्षयरोगको आशंका गर्नुपर्ने समेत दुलालले जानकारी दिनुभयो । क्षयरोग नियमित रूपमा औषधि सेवनबाट पूर्ण रूपमा निको हुने भएकाले डराउनु नपर्ने समेत दुलालले बताउनुभयो ।
क्षयरोगका बिरामीलाई डट्सअन्तर्गत राखेर उपचार गर्ने गरिएको छ । जस अन्तरगत बिरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ । औषधिहरुको सेवनबाट पिसाब रातो हुन सक्ने भए पनि यो स्वाभाविक र सामान्य भएको दुलालले जानकारी दिनुभयो ।