ताप्लेजुङको कूल बजेटमध्ये पुँजीगत बजेट परिचालन ज्यादै न्यून,प्रदेशतर्फ अढाई प्रतिशत भन्दा कम मात्र खर्च

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ११ । चालू आर्थिक बर्ष २०८१।८२ को पहिलो तीन महिनामा ताप्लेजुङको कूल बजेटको पुँजीगत खर्च ज्यादै न्यून देखिएको छ । संघीय सरकारतर्फको भन्दा प्रदेश सरकारतर्फको पुँजीगत खर्च परिचालन झन् न्यून छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनकुमार संग्रौलाका अनुसार प्रदेशतर्फको अहिले सम्मको पुँजीगत खर्च २.३८ प्रतिशत देखिएको छ । उहाँका अनुसार प्रदेशतर्फ कूल पुँजीगत बजेट १२ करोड ५६ लाख ९४ हजार ६ सय ८७ रुपैयाँ रहेकोमा असोज मसान्त सम्ममा २९ लाख ९५ हजार २ सय ३७ रुपैयाँ मात्र खर्च भएको छ । पुँजीगत खर्चको तुलनामा चालू बजेटको परिचालन भने साढे सात गुणा बढी छ ।

संग्रौलाका अनुसार प्रदेशतर्फ चालू बजेट ४५ करोड ४ लाख २७ हजार ७ रुपैयाँ रहेकोमा कूल बजेटको १७.९१ प्रतिशत अर्थात् ८ करोड ७ लाख ६३ हजार ५ सय ६४ रुपैयाँ खर्च भएको छ । संघीय बजेटतर्फ पनि पुँजीगत भन्दा चालू बजेट झण्डै ४ गुणा बढी खर्च भएको छ ।

संघीय सरकारको पुँजीगततर्फ ८९ करोड ८७ लाख १२ हजार रुपैयाँ बजेट रहेकोमा ६.१७ प्रतिशत अर्थात् ५ करोड ५५ लाख २१ हजार १ सय ९० रुपैयाँ मात्र खर्च भएको छ । उता संघीयतर्फ चालू बजेट ४ अर्ब २७ करोड २२ लाख ४० हजार २ सय १ रुपैयाँ रहेकोमा त्यसको २३.२२ प्रतिशत खर्च भएको छ । यो भनेको ९९ करोड २२ लाख ६ हजार ३ सय ५४ रुपैयाँ हो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts