| |

असोजमा छ हजारले गरे पाथीभराको दर्शन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २ । असोज महिनामा करिव छ हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ तिहारको अवसरसँगै पाथीभरा दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने समय असोज महिनामा मात्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
अहिले पाथीभरा दर्शन गर्ने मुख्य मौसम हो । यसवर्ष पाथीभरा दर्शनको मौसम सुरु भएलगत्तै भएको अविरल वर्षाका कारण असोज १२ गतेदेखि ठाउँ–ठाउँमा गएको बाढीपहिरोले मेची राजमार्ग अवरुद्ध हुँदा तीर्थयात्रीले तीर्थयात्रामा निस्कन पाएका थिएनन् । सडक अवरुद्धसँगै असहज परिस्थितिकाबिच असोज महिनामा कुल पाँच हजार ९४९ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।
मुख्य मौसम दसैँको नवरात्रिको समयमा करिव दुई सातासम्म सडक अवरुद्ध भएकाले पाथीभरामा भक्तजनको उपस्थिति न्युन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नवरात्रिको अवधिभर पाथीभरा दर्शनमा स्थानीय मात्र पुगेका थिए । अवरुद्ध सडक अर्थात मेची राजमार्ग खुलेपछि मात्र पाथीभरामा जिल्लाबाहिरका भक्तजन आउन थालेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।
हाङ्बाङका अनुसार सडक अवरुद्ध खुलेसँगै दसैँको अन्तिमतिर मात्र बाहिरका जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, कोलकत्ता, आसाम लगागतबाट पाथीभरा दर्शनमा भक्तजन आउन थालेका थिए । समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार पछिल्लो तीन÷चार दिनयता मात्र पाथीभरामा दैनिक एकहजार बढी भक्तजन पुग्न थालेका छन् ।
दसैँको नवरात्रिको समयमा एकैदिन १५ हजार जनासम्म भक्तजनले पाथीभरा दर्शन गर्ने गरेकामा यसवर्ष सडक अवरुद्ध बाधक भएको पुर्कुटीको भनाइ छ । मुख्य मौसमका बेला पाँचथरको हेवाखोलामा रहेको बेलिब्रिज बगाउनुका साथै पाँचथर, इलाम खण्डमा विभिन्न ठाउँमा पहिरो झरेर मेची राजमार्ग अवरुद्ध बनाएको थियो । यस्तै धरान, धनकुटा–मुलघाट हुँदै पाँचथरको जोरसाल जोड्ने तमोर कोरिडोर पनि बाढीपहिरोले अवरुद्ध बनाएको थियो । उक्त दुवै सडक मार्ग खुलेसँगै हाल पाथीभरामा तीर्थयात्रीको आउजाउ बाक्लै हुन थालेको समितिले जनाएको छ ।
यसैबिच पाथीभरा क्षेत्र विकास समितिको अगुवाइमा बिहीबार पाथीभरामा पञ्चबलीसहित विशेष पूजा आयोजना गरिएको छ । असोज शुक्ल पूर्णिमाको अवसर पारेर पञ्चबलीसहित पूजा आराधना गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । थेबेका अनुसार भेडा, बोका (बाख्रा), हाँस, कुखुरा र परेवाको बली चढाएर पूजा गरिएको छ ।
पाथीभराको उत्पत्ति भेडाको बली चढाएर भएको भन्ने किम्बदन्ती रहेकाले भेडासहित पशुपन्छी बली दिएर पुजाआराधाना गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरामा बली दिएर वा बिना बली दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास गर्ने गरिएको छ । सोहीअनुसार सबैको जनचाहना र मनोकांक्षा पाथीभराले पुरा गरी दिउन् भन्ने उद्देश्यसहित पञ्चबली पूजा आयोजना गरिएको समितिले जनाएको छ । समितिका अनुसार बिहीबार एक हजार ४२२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts