नगरक्षेत्रमा जथाभावी फोहोर फाल्नु हुन्छ ? फुङलिङ नगरपालिकाले तिराउला जरीवाना !

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३० । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार अनुगमनमा देखिने कैफियत देखि फोहोरमैला जथाभावी फाल्ने सम्मलाई दण्ड र जरीवानाको सीमा निर्धारण गरेको छ ।

नगरपालिकाले चालू आर्थिक बर्षका लागि जारी गरेको ‘रातो किताव’मार्फत दण्ड र जरीवानाको सीमा तोकेको हो । चालू आवका लागि जारी ‘रातो किताव’को अनुसूची–१० मा दण्ड र जरीवाना सम्वन्धी व्यवस्था छ । सो अनुसार नगरपालिकाको बजार अनुगमन समितिको अनुगमनका क्रममा कैफियत देखिए कैफियत अनुसार व्यवसाय बन्द सम्मका लागि सम्वन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था गरिएको छ ।

अनुगमनका क्रममा कैफियत देखिए पहिलो पटकका लागि कैफियत देखिएका सामाग्रीको दोब्बर रकम र दोस्रो पटकका लागि तेब्बर रकम सम्म जरीवाना हुन सक्ने व्यवस्था गरिएको छ । यस्तै दोस्रो पटक भन्दा उताको अवधिमा समेत कैफियत दोहोरिए व्यवसाय बन्द सम्मका लागि सम्वन्धित निकायमा लेखी पठाउन सक्ने कानुनी प्रावधान निर्धारण भएको छ ।

गुणस्तरहिन मासुजन्य पदार्थ बिक्री बितरण गरेमा जफत तथा नष्ट गरी पहिलो पटकका लागि २ हजार रुपैयाँ,दोस्रो पटकका लागि ४ हजार रुपैयाँ र तेस्रोपटक देखि पटकैपिच्छे ८ हजार रुपैयाँ जरीवाना गरिने भएको छ । यस्तै खुल्ला ठाउँमा बध गर्ने तथा बेचबिखन गर्ने कार्य गरेमा पहिलो पटकलाई ५ सय,दोस्रो पटकलाई १ हजार र तेस्रो पटकदेखि २ हजार रुपैयाँका दरले जरीवाना गर्ने नीति फुङलिङ नगरपालिकाले लिएको छ ।

जथाभावी फोहोरमैला फाल्नेलाई पहिलो पटक ५ सय,दोस्रो पटक १ हजार र तेस्रो पटक देखि पटकैपिच्छे २ हजार रुपैयाँका दरले जरीवाना गरिने भएको छ । नगरपालिकाले सडकपेटी अतिक्रमण गरी व्यवसाय सञ्चालन गर्नेलाई समेत दण्ड र जरीवाना गर्ने भएको छ । नगरपालिकाले गरेको कानुनी प्रवन्ध अनुसार सडकपेटी अतिक्रमण गरी व्यवसाय सञ्चालन गरेको पाइए पहिलो पटक ५ सय,दोस्रो पटक १ हजार र तेस्रो पटक २ हजार रुपैयाँ जरीवाना तिर्नुपर्ने छ ।

सडकपेटी अतिक्रमण गर्ने ठेलागाडालाई पहिलो पटक ३ सय,दोस्रो पटक ६ सय,तेस्रो पटक १ हजार रुपैयाँ जरीवाना हुने छ भने चौथो पटक समेत यस्तै कार्य गरेको पाइए ठेलागाडा जफत गरी नष्ट गर्ने नगरपालिकाले बताएको छ ।

अनुमति नलिई बिद्यालय सञ्चालन गरेमा तोकिएको अनुमति दस्तुर दरमा सतप्रतिशत जरीवाना गर्ने नियम नगरपालिकाले बनाएको छ । नगरपालिकाले बिद्यालय र सहकारी संघसंस्थाले बुझाउनुपर्ने विवरण नियमित रुपमा नबुझाएमा समेत जरीवाना गर्ने भएको छ ।

बिद्यालयले शुल्क विवरण,छात्रवृत्ति विवरण र ईमिस तथ्याङ्क प्रविष्टीको कार्य समयमै नगरेमा समेत जरीवाना तिर्नुपर्ने भएको छ । यस्तो विवरण समयमै प्रविष्टी नगर्ने आधारभूत तहका बिद्यालयले १ हजार र माध्यमिक तहका बिद्यालयले २ हजार रुपैयाँ जरीवाना तिर्नुपर्ने हुन्छ ।

सहकारी संस्थाले पेश गर्नुपर्ने मासिक प्रतिवेदन प्रत्येक अर्को महिनाको ७ गते भित्र पेश नगरेमा प्रति महिना ५ सय रुपैयाँका दरले जरीवाना तिर्नुपर्ने हुन्छ ।

सहकारी संस्थाले प्रत्येक बर्षको पुस मसान्त भित्र बार्षिक साधारणसभा सम्पन्न गरी माघ १५ गते भित्र प्रतिवेदन नबुझाए ति सहकारी संस्थाका लागि प्रतिबर्ष १ हजार रुपैयाँ जरीवाना तोकिएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts