ताप्लेजुङमा चाडपर्व लक्षित सुरक्षा योजना : पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी परिचालन हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २२ । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी परिचालन हुनेगरी ताप्लेजुङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना अघि सारेको छ ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)रवि रावलले नागरिकको जीउधनको सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा आएको बताउनुभयो । उहाँले सुरक्षाका आवश्यक सूचना संकलनका लागि नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो । अवाञ्छित गतिविधि हुन नदिन प्रशासनकातर्फबाट प्रभावकारीताका साथ सुरक्षा योजना कार्यान्वयन गरिने रावलको भनाई छ । उहाँले चाडपर्वका बेला हुने मानिसहरुको चाप समेतलाई ध्यानमा राखी सुरक्षा जनशक्ति परिचालनको प्रवन्ध गरिएको जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयमार्फत सवारी तथा चालक जाँच अभियान सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो ।

तीव्र गति र अनियन्त्रित सवारी चालकलाई नियन्त्रणमा लिने दखि मादक पदार्थ सेवन गरी सवारी चलाए नचलाएको बारे सुक्ष्म निरागानी बढाउने स्थानीय प्रशासनले तयारी गरेको छ । प्रशासनले निर्धारित समय भन्दा पछि सम्म होटल खुल्ला नराख्न समेत होटल व्यवसायीहरुलाई आग्रह गरेको छ । शंकास्पद क्षेत्र र स्थलहरुमा बलियो सुरक्षा जनशक्ति परिचालन गर्ने तयारी ताप्लेजुङ प्रहरीले गरेको छ । पाथीभरा क्षेत्र विकास समितिसंगको समन्वयमान ताप्लेजुङ प्रहरीले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन प्रयोग गरिने ब्रेथलाइजर मेसिन ल्याउने भएको छ । संघीय राजधानी सहित क्षेत्रमा भने अहिले मादक पदार्थ सेवनको मात्रा समेत थाह पाउने गरी नयाँ ब्रेथलाइजर मेसिन प्रयोगमा आईसकेका छन् । जिल्ला प्रहरी प्रमुख रावलका अनुसार करिव एक महिना भित्रमा ताप्लेजुङका लागि दुईवटा ब्रेथलाइजर मेसिन आउँदैछन् ।

ब्रेथलाइजर उपलब्ध नभएसम्म ट्राफिक प्रहरीले आफुसंग भएका सबै उपाय अवलम्बन गरी सवारी चेकजाँचमा कडाइ गर्ने कार्य सुरु गरिसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख,प्रहरी सहायक निरीक्षक टंक दाहालले जानकारी दिनुभयो । प्रहरीले मादक पदार्थ सेवन गर होहल्ला गर्ने,झैझगडा गर्ने,सवारी नियम उल्लंघन गरी तीव्र गतिमा सवारी कुदाउने,मादक पदार्थ सेवन गरी सवारी कुदाउनेलाई शीघ्र नियन्त्रणमा लिन सादा पोशाकका प्रहरी समेत परिचालन गर्ने नीति लिएको छ ।‘हामी सुरक्षा मजवुत बनाउन सबै हिसावले तयार भइ एक्सनमा समेत गइ सकेका छौं’जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts