ताप्लेजुङ कारागारका कैदीबन्दीलाई मिक्वाखोलाले दियो खसी,कैदीबन्दीको आँखा परीक्षण हुँदै,गिरीद्धारा पनि सहयोग

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २२ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ताप्लेजुङ कारागारका कैदी बन्दीलाई दशैं मनाउन एउटा खसी दिएको छ ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले कारागारमा पुगेर कारागार शाखाका प्रमुख कुलेन्द्र खवास र कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक चन्द्रवीरे थेबेलाई खसी हस्तान्तरण गर्नु भएको छ । खसी हस्तान्तरण पछि कैदी बन्दीलाई सम्बोधन गर्दै पालिका अध्यक्ष कार्कीले दशैंलाई रमाइलो बनाउनका लागि पालिकाकोतर्फबाट खसी हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले पालिका उपाध्यक्ष डण्डु शेर्पा,प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम,पालिकाका ५ वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य र वडा सदस्यहरुकोतर्फबाट कारागारका कैदी बन्दीलाई खसी प्रदान भएको जानकारी दिनुभयो । ताप्लेजुङ कारागारमा अहिले १ सय १७ कैदी र ३७ थुनुवा गरेर १ सय ५४ जना कैदीबन्दी रहेका छन् ।

यसैबिच,नेपाल नेत्रज्योति संघ ताप्लेजुङले डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा बुधवार ताप्लेजुङ कारागारमा रहेका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । विश्व दृष्टी दिवस तथा ६९ औं प्रहरी दिवसको अवसर पारेर कैदीबन्दीको आँखा परीक्षण तथा ४० बर्ष नाघेका चश्मा लगाउनुपर्नेहरुलाई निःशुल्क चश्मा बितरण समेत गर्ने कार्यक्रम रहेको डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । यसअघि यहाँस्थित लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले कैदीबन्दीका लागि एकथान फुबटल प्रदान गर्दै मैत्रीपूर्ण फुटबलका बिजेतालाई २ हजार र उपबिजेतालाई १ हजार नगद समेत दिनु भएको छ । कारागार भित्रनै भएको फुटबल प्रतियोगितामा ५–५ जनाको खेल खेलाई बिजेता र उपबिजेता छुट्टयाईएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts