| |

कोशी प्रदेशको मन्त्री बनेपछि चुनावी क्षेत्रका मतदातासँग भेटघाट गर्दै हाङगाम

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २१ । कोशी प्रदेश सरकारको मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आउनुभएका खगेनसिंह हाङगामले निर्वाचन क्षेत्रका मतदाता अर्थात जनतासँग भेटघाट गर्नुभएको छ । गत भदौ २७ गते कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री बन्नुभएका हाङगामले मतदातासँग भेटघाट गर्नुभएको हो ।
मन्त्री बनेको तीन सातापछि सोमबार पहिलोपटक गृह जिल्ला आउनुभएका हाङगामले आफ्नो चुनावी क्षेत्रका जनतासँग भेटघाट गर्नुभएको हो । निर्वाचन क्षेत्रअन्तर्गत आठराई गाउँपालिकाको फूलबारी, दोभान बजारका मतदातासँगै भेट गर्दै हाङगाम सदरमुकाम फुङ्लिङ आइपुग्नुभएको छ । सर्वसाधारण मतदाता र पार्टीका नेता, कार्यकर्तासँग भेटघाट गर्दै मन्त्री बनेको अवसरमा खुसी साट्नुभएको छ ।
निजी सचिवालयका कर्मचारी तथा सदस्यसहित गृह जिल्ला आउनुभएका मन्त्री हाङगामलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति र विभिन्न भातृ संस्थाले संयुक्त कार्यक्रम आयोजना बधाई तथा शुभकामना दिएको छ । सदरमुकाम फुङ्लिङस्थित सामुदायिक भवन (सिटीहल) मा काँग्रेस पार्टी र पार्टी सम्वद्ध संस्थाले कार्यक्रम आयोजना गरी मन्त्रीलाई बधाई ज्ञापन गरेको छ ।
बधाई तथा शुभकामना ज्ञापनसहित पार्टीको जिल्लास्तरीय नेता र कार्यकर्ताले मन्त्रीसँग खुसी साटासाट गरेका छन् । कार्यक्रमकाबिच जिल्लाको आवश्यकता, भौतिक पूर्वाधारसहितका विकास निर्माणका योजनालाई समेटेर मन्त्रीसमक्ष मागपत्र पनि बुझाइएको छ । मागपत्र बुझाउँदै मन्त्री हाङगामलाई जिल्लाको विकास निर्माणमा ध्यान दिन सुझाइएको छ ।
यता मन्त्री हाङ्गामले पनि जिल्लाको आवश्यकतालाई दृष्टिगत गरी पार्टी नेतृत्वको सल्लाह, सुझाव र सहयोग लिएर विकासका योजना भिœयाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचन क्षेत्रका जनतासँगको भेटमा पनि जनताको मागलाई पूरा गर्न हरदम पहल गर्ने वचन दिनुभएको छ । मन्त्री हाङ्गामले निर्वाचन क्षेत्रका सबै मतदाता अर्थात जनतासँग भेटघाट गर्ने योजना रहेको पनि उहाँको सचिवालयले जनाएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई ताप्लेजुङ निर्वाचन क्षेत्र १ (ख) बाट प्रदेशसभा सदस्यमा हाङगाम निर्वाचित हुनुभएको हो । काँग्रेस–नेकपा एमालेको वर्तमान सत्ता समीकरणअनुसार हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा काँग्रेसको कोटामा हाङगामले मन्त्री बन्ने अवसर पाउनुभएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts