ताप्लेजुङ प्रहरीको नागरिक सुनुवाई : मञ्जुलको हिरासत बसाइदेखि उपभोग्य बस्तुको आपूर्ति सम्मको बिषय उठ्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २१ । ताप्लेजुङ प्रहरीले सोमवार आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा मञ्जुल निरौलाको हिरासत बसाई देखि दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति व्यवस्थापन सम्मको बिषयले प्रवेश पाएको छ ।

जिल्ला प्रहरी कार्यालयले कार्यालय परिसरमा आयोजना गरेको नागरिक सुनुवाईका क्रममा फुङलिङ नगरप्रमुख अमिर मादेनले अपहरण तथा बन्धक मुद्दामा लामो समय थुनामा रहेका मञ्जुलको हिसारत बसाईलाई ‘गैर न्यायिक’दावी गर्दै प्रहरीको अनुसन्धान फितलो भएको टिप्पणी गर्नुभयो । प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य र जिल्ला प्रहरी प्रमुख रवि रावलले निरौलाको प्रकृया अहिले पनि अदालतमा रहेकोले अदालतको क्षेत्राधिकारको बिषयमा आफुहरुले थप टिप्पणी नगर्ने बताउनुभयो । ‘यो हामी आउनु भन्दा अघिको बिषय रहेछ,तर यो बिषयमा हामीले गम्भिर चासो र चिन्ता लिएका हौं ’आचार्य र रावलले भन्नुभयो ।

व्यक्ति बेपत्ता कसुरमा लामो समय थुनामा रहेका मञ्जुल १२ दिन अघि तारेखमा रिहा हुनु भएको छ । उहाँमाथि फुङलिङ नगरपालिका वडा नं ४ निवासी मानसिक अस्वस्थ्य रहेका वीरेन्द्र फेम्बु लिम्बूलाई परिवारको स्वीकृति बेगर गाडीको टिकट काटी उपत्यकातर्फ पठाएको अभियोग छ । भक्तपुरस्थित आफ्नो घर आश्रम नेपालमा वीरेन्द्र सकुशल भेटिएपछि मञ्जुलको हिसारत बसाईलाई मञ्जुल र उहाँका सर्मथकले ‘गैर न्यायिक’दावी गर्दै आइरहनु भएको छ । २०८० साल मंसिर १९ गते हराउनु भएका वीरेन्द्र त्यसको ६ दिन पछि प्रहरी वृत्त जगाती भक्तपुरको सम्पर्कमा पुगेको देखिएको छ । सो वृत्तले मंसिर २५ गते वीरेन्द्रलाई आश्रयका लागि आफ्नो घर आश्रम नेपालमा पठाएको देखिएको छ ।

हराएको ६ दिनमै प्रहरीको सम्पर्कमा पुग्नु भएका वीरेन्द्रलाई अपहरण गरी बेपत्ता बनाएको कसुरमा त्यसको दुईमहिना पछि निरौला बिरुद्ध मुद्दा चलेको भन्दै नगर उपप्रमुख भीमादेवी ओझाले निरौलाको हिरासत बसाईबारे नगरप्रमुखसंगै प्रजिअ र जिल्ला प्रहरी प्रमुखलाई जिज्ञासा राख्नु भएको थियो । जिल्ला प्रहरी प्रमुख रावलले प्रहरीले अनुसन्धान मात्र गर्ने तर थुनछेकको बिषय अदालतको क्षेत्राधिकार भित्र पर्ने बताउनुभयो । वीरेन्द्रका दाजु खगेन्द्रको जाहेरीमा जिल्ला अदालत ताप्लेजुङले निरौलालाई पुर्पक्षमा राखी अनुसन्धान गर्न अनुमति दिएको सो मुद्दामा चित्त नबुझी निरौलाका आफन्तले उच्च अदालत बिराटनगर,इजलास इलाममा पुनराबेदन गर्नु भएको छ । उक्त मुद्दाको किनारा लागेको छैन ।

नागरिक सुनुवाईमा क्रममा व्यवसायी तारानाथ बरालले विपद् पछि सडक र पुलेसा बगाएको प्रभावका कारण उपभोग्य सामाग्री अभाव रहेको दर्शाउँदै उपभोग्य सामाग्रीको सहज व्यवस्थापनको बिषय उठाउनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले तत्काल उपभोग्य बस्तुको अभाव नभएको बताउँदै उपभोक्ताले गरेको आवश्यकता भन्दा बढीको सञ्चयले समस्या सृजना गरेको बताउनुभयो ।‘ अभाव भए जसरी टार्छौै’आचार्यले भन्नुभयो । यातायातको कुनै विकल्प नभएको अवस्थामा हदै सम्मको अभाव भए हेलिकोप्टरमार्फत पनि अभाव हटाई उपभोक्ताको दैनिकी सहज बनाउने आचार्यको आश्वासन थियो । हेंवाखोलामा डाइभर्सन निर्माण हुँदै गरेकोले अब खाद्यान्न सहितका दैनिक उपभोग्य बस्तुको अभाव व्यवस्थापन हुनेमा प्रजिअ आचार्य आसावादी देखिनुभयो ।

पाथीभरा क्षेत्र विकास समितिका सदस्य तेजबहादुर भट्टराईले पाथीभरा क्षेत्रका देउराली–सेवारोचौक–काफ्लेपाटी र बुलुडाँडासम्म सुरक्षा गस्ति बढाउन माग गर्नुभयो । प्रहरी प्रमुख रावलले कार्ययोजना बनाई हुने गरेका नियमित गस्ति अहिले पनि पाथीभरा क्षेत्रमा कायम रहेको भन्दै तीर्थालुको चाँपका आधारमा आफुहरुले सुरक्षा व्यवस्था मजवुत बनाउने बताउनुभयो । होटल व्यवसायी संघ ताप्लेजुङका कोषाध्यक्ष बिमल भण्डारीले ट्रयाक्टर सहितका सवारी साधनको तीव्र गति र अनावश्यक हर्न नियन्त्रण गर्न माग गर्नुभयो । उहाँले बेलुका अबेरसम्म घर बाहिर रहने युवा समूहप्रति निगारानी बढाउनुपर्ने बताउनुभयो ।

प्रहरी प्रमुख रावलले कार्यक्रमस्थलमा रहनु भएका जिल्ला ट्राफिक प्रहरी प्रमुख,प्रहरी सहायक निरीक्षक टंक दाहाललाई उक्त समस्या समाधान गर्न निर्देशन दिनुभयो । ‘थप मद्यत चाहियो भने म जिल्ला प्रहरी कार्यालयबाट उपलब्ध गराउँछु’निर्देशनका क्रममा उहाँले भन्नुभयो । रावलले चाडपर्व लक्षित सुरक्षा कार्ययोजना बनेको बताउँदै पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरमा सशस्त्र प्रहरीमार्फत सुरक्षा योजना कार्यान्वयन गर्ने बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts