थप बर्षा नभए सोमबारबाट साँघु–गुफापोखरी–बसन्तपुर सडक खण्डमा सवारी कुद्न सक्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २० । थप बर्षा नभए सोमबारबाट ताप्लेजुङको दोभान–साँघु–गुफापोखरी–बसन्तपुर हुँदै धनकुटा–धरान सडकमार्फत यातायात सञ्चालन हुन सक्ने सम्भावना औंल्याइएको छ ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले थप बर्षा नभए यो खण्डको सडकमार्फत यातायात सञ्चालन गर्नेगरी सडक मर्मत तथा सफाई गरिएको बताउनुभयो । उहाँका अनुसार सोमवार बिहान सम्ममा मंगलवारे र श्रीमाने सम्मको अप्ठ्यारो बाटो मर्मत तथा सफाई सक्नेगरी कार्यलाई तीव्रता दिईएको छ । यसअघि फेदी र चौकी सडक खण्डलाई मर्मत तथा स्तरोन्नती गरी सकिएको वनेमले जानकारी दिनुभयो । ताप्लेजुङको दोभान देखि तेह्रथुमको बसन्तपुर सम्मको सडकलाई मदन भण्डारी राजमार्ग नामाकरण गरिएको छ । ताप्लेजुङको दोभान देखि मैवाखोला गाउँपालिकाको केन्द्र साँघु हुँदै संखुवासभाको गुफापोखरी–चौकी–मंगलवारे हुँदै तेह्रथुमको बसन्तपुरबाट धनकुटा सम्म पुग्न सकिने सडक रहेको छ ।

केहिदिन अघिको बाढी र पहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर क्षेत्रमा देखिएको यातायात सञ्चालन समस्यालाई मध्यनजर गरी उक्त सडकमार्फत पनि यातायात सञ्चालनको पहल अघि बढाइएको हो । दशैं–तिहार जस्ता चाडपर्वका बेला ताप्लेजुङ फर्कने यात्रुहरुहरुको सुविधालाई ध्यानमा राखेर उक्त सडक मर्मतसम्भार र सफाई गरी बस र अन्य सवारी सञ्चालन हुन सक्ने अवस्था बनाइएको वनेमले बताउनुभयो । मैवाखोलाले सोलिङ र अस्थायी लानी कटान सहितको थप स्तरोन्नतीको कामका लागि ठेक्का खोल्ने तयारी समेत गरेको जनाएको छ ।

मेची राजमार्ग र तमोर करिडोर क्षेत्रमा पछिल्लो समय भएको यातायात अवरोध पछि ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका र तेह्रथुमको आठराई गाउँपालिकाले समेत यसअघि वैकल्पिक मार्ग औंल्याएका छन् । ति दुबै गाउँपालिकाले फुङलिङको बहानन्दे–दोभान–हाङपाङ हुँदै तेह्रथुमको आठराई संक्रान्तिबाट मध्य पहाडी राजमार्गको बाटोबाट तराई निस्कने सकिने गरी वैकल्पिक मार्ग औंल्याउँदै दुबै पालिका क्षेत्रमा पर्ने बाटो मर्मत तथा सफाई अभियान चलाएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts