हेंवाखोलामा अस्थायी डाइभर्सन बनाउन सुरु,सोमवारबाट साना सवारी डाइभर्सनमार्फतनै सञ्चालन तयारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २० । मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडक खण्ड अन्र्तगत पाँचथरको हेंवाखोलामामा कम्तिमा सोमवारबाट अस्थायी डाइभर्सनमार्फत साना सवारीको एकतर्फी आवागमन सुरु हुने सम्भावना देखिएको छ ।

तमोर करिडोर अन्र्तगत नावाखोलामा समेत अस्थायी डाइभर्सनको काम अघि बढेकोले अब सवारी अब ताप्लेजुङ सहित पाँचथरको हेंवाखोला वारीका बासिन्दालाई तराई झर्न देखिदैं आएको समस्या चाँडै अन्त्य हुने पाँचथरका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय इलामका ईञ्जिनियर सरोज सुबेदीका अनुसार हेंवाखोलामा अहिले अस्थायी डाइभर्सन बनाउने काम तीव्र गतिमा अघि बढाइएको छ । दुबैतर्फबाट स्काभेटरमार्फत पानीको सतह फराकिलो बनाउने काम भइरहेको र त्यसपछि ह्युमपाइम बिछ्याउने काम अघि बढाइने सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँ ८ मिटर लम्बाई र ५ मिटर चौडाँईका १६ वटा ह्युमपाइप अस्थायी डाइभर्सनस्थलमा ल्याइएको छ ।

‘कार्यस्थलमा इन्धनको समस्या नभए सोमवारबाट हेंवाखोलाबाटै साना सवारीको एकतर्फी यात्रा सुरु गर्ने सम्भावना बढ्दै गएको छ’यातायात समस्याको समाधानको विकल्प खोज्न ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यको नेतृत्वमा हेंवाखोला पुगेको टोलीसंग पाँचथरका प्रमुख जिल्ला अधिकारी कोईरालाले भन्नुभयो । प्रजिअ आचार्यको नेतृत्वमा शनिवार अपरान्ह जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु,ताप्लेजुङ उद्योग बाणिज्य संघ,जिल्ला रेडक्रस सोसाईटी,पत्रकार महासंघ र होटल व्यवसायी संघका प्रतिनिधि सम्मिलित टोली पाँचथरको हेंवाखोला पुगेको थियो । ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले इलाम र पाँचथरको फिदिम भन्दा उताको मेची राजमार्ग खण्डमा सडक अवरोध नभए अब हेंवाखोलाको अस्थायी डाइर्भसनमार्फत यातायात सुरु हुन धेरै कठिनाई नरहेको बताउनुभयो ।‘त्यहाँ इन्धनको समस्या भए त्यसको समाधान गरी तत्काल अस्थायी डाइभर्सनको काम पूरा गराउनु पर्छ’थापाले भन्नुभयो ‘त्यही समस्या समाधानका लागि पाँचथर र ताप्लेजुङका सरोकारवालाको निरन्तर छलफल र सम्वाद चलिरहेको हो’ ।

नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले मेची राजमार्गको इलाम–फिदिम खण्डमा सडक अवरुद्ध हुन नपाए हेंवाखोलाको अस्थायी डाइभर्सनमार्फत साना सवारीको आवागमनमा अप्ठेरो नहुने अवस्था देखिएको बताउनुभयो । तमोर करिडोर(चतारा–मूलघाट–सुभाङखोला) सडक योजना कार्यालयका अनुसार तमोर करिडोर अन्र्तगत पाँचथरको नावाखोलामा देखिएको समस्या हल गर्ने प्रकृया अघि बढेको छ । योजना प्रमुख प्रदीप निरौलाका अनुसार नावाखोलामा अस्थायी डाइभर्सन बनाउने कार्यका लागि ह्युमपाइप र मेसिन तयारी अवस्थामा राखिएको छ । त्यहाँ अहिले १० वटा ह्युमपाइप रहेका छन् । खोलामा पानीको सतह फराकिलो बनाइ ह्युमपाइप बिछ्याउने कार्य सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

नावाखोलाको समस्या हटे मूलघाट हुँदै तमोर करिडोरमार्फत पाँचथरको जोरसाल हुँदै हेंवाखोलाको अस्थायी डाइभर्सन तरेर मेची राजमार्ग हुँदै ताप्लेजुङतर्फको यात्रा तय गर्न सकिन्छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी कोइरालाले हेंवाखोलामा सुरुमा फड्के,दोस्रोमा अस्थायी डाइभर्सन र तेस्रो तथा अन्तिमा स्थायी समाधान स्वरुप पक्की वा बेलिब्रिज निर्माणको कार्य अघि बढाउने गरी कार्यसूची तयार भएको बताउनुभयो ।‘हामी त्यही कार्ययोजना अनुसार दोस्रो विकल्पको समाधानउन्मुख छौं’उहाँले भन्नुभयो । नावाखोला सहितको तमोर करिडोर सडक खण्डको अवस्था र त्यहाँ देखिएको समस्या समाधानका उपाय केलाउन ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्व टोली आइतवार बिहानै त्यसतर्फ लागेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts