| |

ताप्लेजुङका सात जना प्रदेश सांसदलाई मन्त्री बन्ने अवसर

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ६ । ताप्लेजुङबाट कोशी प्रदेशसभाका सदस्य बन्नुभएका एक जनाबाहेक सबैलाई मन्त्री बन्ने अवसर प्राप्त भएको छ । कोशी प्रदेश सभाको पहिलो कार्यकालमा चारजना र दोस्रो अर्थात वर्तमान कार्यकालमा सांसद बन्नुभएका तीनजनाले मन्त्री बन्ने अवसर प्राप्त भएको हो ।
प्रदेशसभा सदस्यका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै कोशी प्रदेशसभा सदस्य बन्नुभएका सांसदहरुलाई मन्त्री बन्ने अवसर मिलेको हो । वर्तमान कार्यकालका लागि ताप्लेजुङ निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य खगेनसिंह हाङगाम भर्खरै कोशी प्रदेश सरकारको मन्त्री बन्नुभएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा हाङगाम उद्योग, कृषि तथा सहकारी मन्त्री बन्नुभएको हो । मुख्यमन्त्री कार्कीले भदौ २७ गते विस्तार गर्नुभएको मन्त्रीमण्डलमा उहाँले मन्त्री बन्ने अवसर पाउनुभएको हो । नवनियुक्त मन्त्री हाङगाम २०७९ मा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित हुनुभएको हो ।
पछिल्लो कार्यकालमै ताप्लेजुङ निर्वाचन क्षेत्र १ (क)बाट निर्वाचित तिलकुमार मेन्याङ्बो पनि मन्त्री बनिसक्नुभएको छ । हिक्मतकुमार कार्की नै पहिलोपटक मुख्यमन्त्री बन्नुभएको बेला मेन्याङ्बोले खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री बन्ने अवसर पाउनुभएको थियो । मेन्याङ्बो नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भई प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
यस्तै प्रदेशसभाकै दोस्रो अर्थात वर्तमान कार्यकालमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य बन्नुभएकी निर्मला तावा लिम्बूले पनि मन्त्री बन्ने अवसर प्राप्त गर्नुभयो । कार्की नेतृत्वकै प्रदेश सरकारमा लिम्बू स्वास्थ्य मन्त्री बन्नुभएको थियो ।
त्यस्तै कोशी प्रदेशसभाको पहिलो कार्यकालमा एमालेका तर्फबाट उम्मेदवार भई ताप्लेजुङ निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री हुनुभएको थियो । निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित सांसद टंक आङ्बुहाङ लिम्बू आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको थियो । आङ्बुहाङ नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बनेर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यसैगरी प्रदेशसभाको पहिलो कार्यकालमा नेपाली काँग्रेसका तर्फबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य बन्नुभएका प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री हुनुभएको थियो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समानुपातिक कोटामा प्रदेशसभा सदस्य हुनुभएकी विष्णु तुम्बाहाम्फेले पनि सामाजिक विकास राज्यमन्त्री बन्ने अवसर पाउनुभएको थियो । उक्त कार्यकालमा एमालेको तर्फबाट समानुपातिक कोटामा प्रदेश सांसद बन्नुभएकी होमकुमारी साँवाले मात्र मन्त्री बन्ने अवसर पाउनुभएन ।
प्रदेशसभाको दुवै कार्यकालमा कुनै पनि राजनीतिक दलले एकल बहुमत सिट ल्याउन नसक्दा सरकार अदलबदल भइरहने क्रमले ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने अधिकांस सांसदले मन्त्री बन्ने अवसर पाउनुभएको हो । समीकरणको सत्ता अस्थिर हुने हुँदा सरकार र मन्त्रीहरुले आफ्नो कार्यकाल भने अनिश्चित अवस्थामै बिताउनुपरेको छ । उता भोट दिएर जिताएका सांसदहरु मन्त्री भए पनि विकास निर्माण लगायतमा प्रगति भएको भनेर अनुभूति गर्न भने नपाएको जिल्लाबासी बताउँछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts