| |

पहिरो पन्छाउन वाइसीएलले गर्यो श्रमदान

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २ । ताप्लेजुङस्थित फक्ताङ्लुङ गाउँपालिकाको सभा हलमा थुप्रिएको पहिरो हटाउन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालले श्रमदान गरेको छ । गाउँपालिका कार्यालयको सभा हल रहेको माथिको स्थानबाट झरेर थुप्रिएको पहिरो पन्छाउन वाइसीएलले बुधबार श्रमदान गरेको हो ।
गत साउन ४ गते वर्षासँगै माथिबाट झरेको पहिरोले फक्ताङ्लुङ गाउँपालिका कार्यालयमा क्षति गरेको थियो । कार्यालय भवनभन्दा छुट्टै भवनमा रहेको सभा हलमा करिव तीन फिट उचाइ हुनेगरी थुप्रिएको पहिरो हटाइएको हो । वाइसीएल नेपाल फक्ताङ्लुङ गाउँपालिका कमिटीको अगुवाइमा पहिरो पन्छाउने काम भएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष लिम्बूका अनुसार पहिरो झरेर एकपट्टिको पर्खाल भत्काएर सभा हलभित्र पहिरो अर्थात ढुंगा–माटो थुप्रिएको थियो । सभा हल प्रयोगमा ल्याउन नमिल्नेगरी थुप्रिएको पहिरो वाइसीएलको सहभागितामा श्रमदान गरेर हटाउने काम भएको लिम्बूले बताउनुभयो ।
सभा हलभित्र थुप्रिएको पहिरो हटाउनलाई करिव चार लाख रुपियाँ जति खर्च हुने अनुमान गरिँदै आएको काम श्रमदानमार्फत नै सम्पन्न गरिएको अध्यक्ष अध्यक्ष लिम्बूको भनाइ छ । अब पहिरो हटाएसँगै सामान्य मर्मतको काम गरेपछि सभा हल प्रयोगमा ल्याउन सकिने अवस्थाको भएको पनि उहाँले बताउनुभयो ।
पहिरो हटाउन श्रमदान गर्नेमा वाइसीएलका जिल्ला अध्यक्ष कैलास लिम्बू, सचिव सुधिर सावादेन सहितका पदाधिकारी र अन्य वाइसीएल सम्वद्ध युवाहरुको सहभागिता रहेको थियो । त्यस्तै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) सहितका नेता, कार्यकर्ता पनि सहभागी हुनुभएको वाइसीएल नेपाल फक्ताङ्लुङ गाउँपालिका कमिटीले जनाएको छ ।
सो समयमा गएको पहिरोले तमोर करिडोरअन्तर्गत तापेथोक सडक खण्डमासमेत क्षति गरेको थियो । त्यसैगरी स्थानीयको घर, केही पशुचौपायाको गोठ तथा ग्वाली र अन्य संरचनामा पनि पहिरोले क्षति गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts