|

खेजेनिमबाट बेबारिसे एक व्यक्तिको उद्धार

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २४ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमबाट बेबारिसे एक व्यक्तिको उद्धार गरिएको छ । खेजेनिमको चवाखुस्थित किसानले लगाएको अलैँची बगानमा बेबारिसे अवस्थामा भेटिएका ती व्यक्तिको उद्धार गरिएको हो ।
खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाइँको नेतृत्वमा बेबारिसे अवस्थामा भेटिएका व्यक्तिलाई आइतबार उद्धार गरी लिङ्खिमको सिँवा स्वास्थ्य चौकीमा उपचारार्थ भर्ना गरिएको छ । अस्वस्थ्य र कमजोर अवस्थामा भेटिनुभएका व्यक्तिलाई फक्ताङ्लुङ गाउँपालिकाको एम्बुलेन्समार्फत सिँवा स्वास्थ्य चौकीमा पु¥याइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो ।
अध्यक्ष लिम्बूकाअनुसार सिँवा प्रहरी चौकीबाट खटेको टोलीसमेतको सहयोगमा अलैँची बगानदेखि कपडाको डोली बनाई बोकेर सडकको पहुँच भएसम्म निकालिएको थियो । सडकमा निकालेपछि एम्बुलेन्समार्फत सिँवा स्वास्थ्य चौकी पु¥याएको अध्यक्ष लिम्बूले बताउनुभयो ।
अनुमानित ४० देखि ४५ वर्ष उमेरका तराई मूलकाजस्ता देखिने व्यक्तिको मानसिक सन्तुलन पनि ठीक नभएको पाइएको छ । अध्यक्ष लिम्बूका अनुसार नाम, ठेगाना बताउन नसक्ने ती व्यक्तिले सामान्य हिन्दी भाषा भने बोल्ने गरेका छन् । स्थानीयका अनुसार बेबारिसे अवस्थामा फेला परेका व्यक्ति केही हप्ता अघिदेखि नै अलैँची बगानभित्रको एक ओडारमा रहँदै आएका थिए ।
जंगलबाट उद्धार गरिएपछि स्वास्थ्य चौकीमा उपचारार्थ भर्ना गरिएका उहाँलाई बेबारिसे मानवको संरक्षण गर्ने संस्था वा आफन्तको खोजी गरी पठाउने प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts