निजामति सेवा दिवसका अवसरमा ताप्लेजुङमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न,न्याय सेवा समूहतर्फको टोली प्रथम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, भदौ २२ । निजामति सेवा दिवस २०८१ को अवसर पारेर शनिवार ताप्लेजुङमा कर्मचारीहरुकाबिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

कर्मचारी मिलन केन्द्र ताप्लेजुङको आयोजनमा सम्पन्न उक्त हाजिरी जवाफ प्रतियोगितामा न्याय सेवा समूहतर्फको टोली प्रथम भएको छ । उसले २१ अंक प्राप्त गर्यो । दोस्रो भएको मैवाखोला गाउँपालिकाको टिमले १८ अंक प्राप्त गर्दा भेटनरी सेवा समूहको टोली १६ अंक सहित तृतीय भएको कर्मचारी मिलन केन्द्र ताप्लेजुङका कोषाध्यक्ष तथा जिल्ला हुलाक कार्यालय ताप्लेजुङका निमित्त प्रमुख नवराज गिरीले जानकारी दिनुभयो ।

मिलन केन्द्रका सदस्य तथा नेपाल बैंक लिमिटेड ताप्लेजुङका प्रवन्धक बसुन्धरा आचार्यका अनुसार प्रतियोगितामा ९ टीम सहभागी थिए । यहाँ रहेका ९ स्थानीय तहका सबै,बैंक तथा बित्तीय संस्था,संघीय कार्यालय र प्रदेश कार्यालयका समेत गरी १४ टिम सहभागी हुने अपेक्षा गरिएपनि ९ टीम मात्र सहभागी भएको कर्मचारी मिलन केन्द्र ताप्लेजुङका उपाध्यक्ष तथा कोष नियन्त्रक गणेशकुमार पोखरेलले बताउनुभयो । स्थानीय तहतर्फ मैवाखोला गाउँपालिकाले मात्र सहभागिता जनाएको थियो ।

मिलन केन्द्रलाई सबै तहका कर्मचारीहरुको हकहितमा उद्यत रहने निकायको रुपमा स्थापित गर्ने प्रयत्न स्वरुप निजामति सेवा दिवसका अवसरमा सबै क्षेत्रका कर्मचारी आवद्ध गराई कार्यक्रम गरिएको मिलन केन्द्रका सचिव तथा नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठले बताउनुभयो ।

यसबर्षको निजामति सेवा दिवसको नारा ‘व्यवसायिक र सृजनशील प्रशासन,विकास समृद्धि र सुशासन’तय भएको थियो  । कार्यक्रमको उद्घाटन तथा पुरस्कार बितरण कर्मचारी मिलन केन्द्र ताप्लेजुङका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले गर्नु भएको थियो । कार्यक्रममा मिलन केन्द्रका सल्लाहकारहरु क्रमशः दुर्गादल गुल्मका गुल्मपति बिक्रम खड्का,जिल्ला प्रहरी प्रमुख रबि रावल,सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चजंघाका गुल्मपति नरेश महर्जन सहितको उपस्थिति रहेको मिलन केन्द्रका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts