‘दोहोरो कर’नउठाउन कर संकलकलाई सिरिजङ्गाको निर्देशन,बाटो मर्मतका लागि हाईड्रो पावरलाई भनियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, भदौ २२ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले स्थानीय सडक तथा पूर्वाधार उपयोग कर संकलकलाई सम्झौतामा तोकिए भन्दा बढी तथा दोहोरो कर संकलन गरे जरिवाना सहित कारवाही गर्ने चेतावनी दिएको छ ।

पालिकाको वडा नं १ सिनाम पञ्चमीमा रहेको केन्द्रमार्फत जडिबुटी,कवाडी,जीवजन्तु र स्थानीय सडक तथा पूर्वाधार उपयोग कर संकलन हुँदै आएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार ऐनले तोकिएको भन्दा बढी तथा दोहोरो कर नउठाउन कर संकलकलाई लिखित निर्देशन दिईएको छ । स्थानीय व्यवसायीले दोहोरो कर संकलन भएको भन्दै यस्तो कर तत्काल खारेज हुनुपर्ने माग गर्दै आएका छन् । ऐनले तोके भन्दा बढी रकम रकम कर असुले संकलकलाई जरिवाना तथा कारवाही गर्ने गाउँ कार्यपालिकाले निर्णय समेत गरेको प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताउनुभयो ।

यसैबिच,गाउँपालिकाले कावेली खोलामा निर्माणाधिन जलविद्युत आयोजनालाई पालिकाको केन्द्र सम्म आउने सडक मर्मत सम्भारका लागि पालिकाले अनुरोध गरेको छ । सिरिजङ्गा गाउँपालिका भई बग्ने कावेली खोलामा अहिले तीनवटा जलविद्युत परियोजना निर्माणाधिन अवस्थामा रहेका छन् । निर्माणाधिन जलविद्युत परियोजनाका निर्माण सामग्री ओसारपसारका क्रममा सिरिजङ्गा गाउँपालिकाका बिभिन्न स्थानमा रहेका कच्ची सडक भत्किएको,बिग्रिएको तथा खाल्डाखुल्डी परेर सवार आवतजावत गर्न कठिन भएको यातायात व्यवसायीको गुनासो थियो ।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको दररेटका आधारमा सवारी सञ्चालन गर्न तथा सिट भन्दा बढी क्षमतामा यात्रु ओसारपसार नगर्न नगराउन समेत सम्वन्धित क्षेत्रका व्यवसायीलाई आग्रह गरेको छ । ‘दोहोरो कर खारेजी’ तथा जलविद्युत परियोजनाका सामग्री ओसारपसारका क्रममा भत्किएको बिग्रिएको कच्ची सडक मर्मतको माग गर्दै सिरिजङ्गा गाउँपालिकाका यातायात व्यवसायी आन्दोलनमा थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts