माथिल्लो मेवा ‘ए’ जलविद्युत आयोजनाका निर्माणका लागि सरकारले दियो ३.२१ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने अनुमति

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २१ । सरकारले माथिल्लो मेवा ‘ए’ जलविद्युत आयोजनाका निर्माणका लागि ३.२१ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ ।
भदौ २० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेका २४ वटा निर्णयमध्ये १५ नम्बरमा उक्त निर्णय गरिएको छ । शुक्रवार नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी गराउनु भएको हो । ३१.९२ मेगावाट क्षमताको माथिल्लो मेवा ‘ए’ जलविद्युत आयोजना मिक्वाखोला गाउँपालिका भएर बग्ने मेवाखोलाको पानी उपयोग गरी निर्माण हुने आयोजना हो । आयोजनाको मुख्य प्रवद्र्धक सूर्य होल्डिङ प्रालि रहेको छ ।
भूमिगत विद्युत गृह हुने सो जलविद्युत आयोजनाबाट बार्षिक सरदर १९१.२६ गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुने छ । उत्पादित विद्युत आयोजना स्थलबाट करिव ३० किलोमिटर टाढा रहेको मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुस्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभिए विद्युत प्रसारण लाइनमा जडान हुने छ । आयोजनाले २०८३ साल मंसिरबाट व्यवसायिक उत्पादन थाल्ने योजना बनाएको छ ।