बाँकी कैद माफी मिनाह पाएर छुट्ने सूचीमा परे ताप्लेजुङ कारागारमा रहेका दुई कैदी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २० । ताप्लेजुङ कारागारमा रहेका दुईजना कैदी बाँकी कैद माफी मिनाह पाएर छुट्ने सूचीमा परेका छन् ।

कारागार व्यवस्थापन विभागले कैद माफी मिनाह पाएर छुट्नेहरुको नामावली सार्वजनिक गर्दा उनीहरुको नाम समेत रहेको छ । कैद माफी मिनाह पाउनेको सूचीमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका स्थायी घर भएका दुईजना छन् । माफी मिनाह पाउनेको सूचीमा परेकामा गर्भ संरक्षण बिरुद्धको कसुरमा जेल सजाय बिताइरहेका सिरिजङ्गा गाउँपालिका वडा नं २ का डिल्लीकुमार डाँगी र सवारी ज्यान सम्वन्धी कसुरमा सजाय भुक्तान गरिरहेका सिरिङ्गा गाउँपालिका वडा नं ३ का अमिन लिम्बू रहेका छन् । डाँगी उच्च अदालत बिराटनगर,इजलास इलामको २०८० साल जेठ ३ गतेको फैसला अनुसार २०८० साल साउन ५ गतेबाट थुनामा छन् । डेढबर्ष कैद सजाय तोकिएका डाँगीले १ बर्ष १ महिना २७ दिन भुक्तान गर्नेछन् भने ४ महिना ३ दिन बाँकी कैद माफी मिनाह पाउने छन् ।

२०७९ साल मंसिर १४ गते कैदमा परेका लिम्बू बिरुद्धको मुद्दामा ताप्लेजुङ जिल्ला अदालतको २०८० साल बैशाख २५ गतेको फैसलाबाट कसुर प्रमाणित भएको थियो । १ बर्ष ९ महिना १८ दिन कैद भुक्तान गर्ने उनले १ बर्ष २ महिना १२ दिन माफी मिनाह पाउने छन् । विद्यमान व्यवस्थाअनुसार २०७५ भदौ १ गतेभन्दा अगाडि भएको कसुरको हकमा ४० प्रतिशत र त्यसपछि भएको कसुरको हकमा ५० प्रतिशत सजाय काटेकालाई बाँकी कैद छुट दिन सकिने व्यवस्था छ । तर कतिपय कसुरका हकमा यस्तो व्यवस्था आकर्षित हुँदैन । कैदकट्टा सिफारिस भएका व्यक्तिका बारेमा गुनासो राख्न भदौ १६ गतेका मितिले ७ दिनको म्याद दिएकोले अन्तिम निर्णय हुन भने बाँकी रहेको कारागार व्यवस्थापन विभागले सूचनामार्फत भनेको छ । अन्तिम निर्णयमा पनि उनीहरुको नाम अटाए सम्भवत आउँदो असोज ३ गते संविधान दिवसको दिन उनीहरु छुट्ने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts