कित्ताकाट विवरण तथा वर्गीकरण नक्सा अद्यावधिक नगर्दा ताप्लेजुङका ६ स्थानीय तहको कित्ताकाट रोकियो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १६ । ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तहको कित्ताकाट रोकिएको छ ।
स्थानीय तहबाट कित्ताकाट विवरण तथा वर्गीकरण नक्सा अद्यावधिक गरिसकेको जानकारी आफुहरुलाई प्राप्त नभएकोले यहाँका ६ स्थानीय तहको कित्ताकाट तत्काललाई स्थगित गरिएको नापी कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालय प्रमुख रजिता श्रेष्ठका अनुसार फुङलिङ नगरपालिका,आठराई त्रिबेणी गाउँपालिका,मेरिङदेन गाउँपालिका,फक्ताङलुङ गाउँपालिका,सिरिजङ्गा गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिका क्षेत्रका जग्गाको कित्ताकाट रोकिएको हो ।
सिदिङ्वा गाउँपालिका,मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिकाको पूर्ण वर्गीकरण नक्सा प्राप्त भएकोले उल्लेखित तीनवटा पालिका क्षेत्रका जग्गाको पूर्ववत् अवस्था बमोजिम नै कित्ताकाट हुँदै आएको नापी कार्यालयले जनाएको छ । कित्ताकाट बाहेक अंशवण्डा,अंश भरपाई र मोहि बाँडफाँडको सेवा भने सबै स्थानीय तहका सेवाग्राहीलाई दिदैं आएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय ताप्लेजुङका प्रमुख निर्मल शेर्पाले भने सिदिङ्वा गाउँपालिकाले मात्र पूर्ण विवरण आफुहरुलाई पठाएको र बाँकी स्थानीय तहको कित्ताकाट विवरण तथा वर्गीकरण नक्सा सहितको पूर्ण विवरण आफुहरुलाई प्राप्त नभएको बताउनुभयो ।
भूउपयोग क्षेत्रको वर्गीकरण गरेका कतिपय स्थानीय तहले पनि आंशिक रूपमा मात्र विवरण पठाएको शेर्पाले जानकारी दिनुभयो । भूउपयोग नियमावली जारी भएको मितिले एक वर्षभित्र स्थानीय तहले भूउपयोग क्षेत्रको वर्गीकरण गर्नुपर्ने भूउपयोग नियमावलीमा उल्लेख भएपनि नियमावली जारी भएको दुई वर्ष बितिसक्दा पनि जग्गाको वर्गीकरण नगर्दा त्यसको मारमा सर्वसाधारण पर्दै आएका छन् । २०७९ जेठ २३ गते भूउपयोग नियमावली जारी भएको थियो ।
भूउपयोग ऐनको दफा ४ अनुसार जग्गालाई नौ प्रकारमा वर्गीकरण गरिने व्यवस्था छ । जसमा कृषि,आवासीय, व्यवसायिक,औद्योगिक, खानी तथा खनिज, वन, नदी÷खोला÷ताल÷सिमसार,सार्वजनिक उपयोग,सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्र पर्छन् । कतिपय स्थानीय तहले कृषि र गैरकृषि गरी दुई प्रकारमा मात्र जग्गाको वर्गीकरण गर्ने गरेका छन्,जुन आशिंक विवरण भित्र मात्र पर्छ । स्थानीय तहले भूउपयोग क्षेत्र वर्गीकरण नगर्दा सरकारले जग्गाको कित्ताकाटमा रोक लगाएको छ ।