ताप्लेजुङमा प्रोटोकल अनुसार ८ पटक गर्भजाँच गराउनेको संख्या बढ्दै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १४ । ताप्लेजुङमा प्रोटोकल अनुसार गर्भजाँच गराउनेको संख्या बढ्दै गएको पाइएको छ ।

प्रोटोकल अनुसार अहिले ८ पटक गर्भजाँच गराउनुपर्छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार पछिल्लो बर्षमा ८ पटक गर्भजाँच गराउनेको संख्यामा बृद्धि भई ४ पटक वा सो भन्दा कम गर्भजाँच गराउनेको संख्या घटेको छ । अहिले गर्भरहेको १२ हप्तामा पहिलो पटक,१६ हप्तामा दोस्रो,२०–२४ हप्तामा तेस्रो,२८ हप्तामा चौथो,३२ हप्तामा पाँचौं,३४ हप्तामा छैंटौं,३६ हप्तामा सातौं र ३८ देखि ४० हप्तामा आठौं पटक गर्भजाँचा गराउनुपर्नेगरी प्रोटोकल तोकिएको छ । ८ पटक गर्भजाँच गराउनुपर्ने प्रोटोकल निर्धारण अघि गर्भ रहेको १६ हप्ता,२०–२४ हप्ता,३२ हप्ता र ३६ हप्तामा गर्भजाँच गराउनुपर्ने प्रोटोकल थियो ।

दुलालका अनुसार ताप्लेजुङमा आव २०७९।८० मा चारपटक गर्भजाँच गराउनेको संख्या १ हजार ८ सय ५५ रहेकोमा आव २०८०।८१ मा १ हजार ३ सय ८९ मा झरेको छ । सो आवमा ८ पटक गर्भजाँच गराउनेको संख्या ६ सय ५५ रहेकोमा यस्तै आव २०८०।८१ मा बढेर ७ सय ३३ पुगेको छ । नियमित गर्भ जाँच गराउनाले आमा र शिशुको स्वास्थ्य अवस्था थाहा हुने र सम्भावित खतराको लक्षणहरुको बेलैमा व्यवस्थापन गर्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रोटोकल अनुसार स्वास्थ्य जाँच गराएमा सम्वन्धित स्वास्थ्य संस्थामार्फत प्रोत्साहन रकम समेत दिने व्यवस्था रहेको छ । सुत्केरी अवस्थामा कम्तिमा पनि ३ पटक अनिवार्य सुत्केरी जाँच गराउनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ । सुत्केरी जाँच गराउँदा पहिलो पटक २४ घण्टा भित्र, दोस्रो पटक ३ दिनमा र तेस्रो पटक ७ दिनमा गराउनु उपयुक्त हुने उनीहरुले सुझाएका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts