डिवीसर ! जसले कहिल्यै सुगमतिरको सरुवा सोच्नु भएन,३८ बर्ष एकै बिद्यालयमा बिताउनुभयो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १४ । पेशा र व्यवसाय अनुसार एकाध बाहेक वेतनभोगी मानिसहरु सरुवा र बढुवा भइ एक निश्चित अवधि पछि एकठाउँबाट अर्को ठाउँमा जागिर खान पुग्छन् । अझ सुगम ठाउँ घर भएका मानिसहरु जागिरका क्रममा छोटो समय मात्र दुर्गम क्षेत्र बसौं भन्ठान्छन् र हतार–हतार आफ्नो घर भएको सुगम क्षेत्रमा सरुवाका लागि शक्ति केन्द्र धाउँछन् । तर मोरङको उर्लावारी घर भइ सूदुरपूर्वको हिमाली जिल्ला ताप्लेजुङको दुर्गम गाउँ ओलाङचुङगोलाका शिक्षक डिकबहादुर केसी(डिवीसर)ले भने झण्डै चारदशक त्यही दुर्गम गाउँको एउटै बिद्यालयमा सेवा गरी अवकास पाउनु भएको छ ।
अध्यापनको सिलसिलामा २०४२ सालमा ताप्लेजुङ आउनु भएका डिवीसर फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाको महेन्द्र आधारभूत बिद्यालयबाट ३८ बर्षपछि यसैसाता अनिवार्य अवकासमा जानुभयो । उहाँभन्दा धेरै पछि ताप्लेजुङ आएका शिक्षक सहकर्मीहरु सरुवा मिलाउँदै आफ्नै गाउँघर फर्किनुभयो । तर डिवी सरले गोला छाड्नु भएन । जुन बिद्यालयमा पुगेर स्थायी जागिर सुरु गर्नुभयो,एकदिन पनि अरु कुनै स्थानमा सरुवा नभई त्यही बिद्यालयबाट अनिवार्य अवकासमा जानुभयो । गोलाका स्थानीय वासिन्दा तेञ्जिङ वालुङ ३८ बर्ष लामो सेवा अवधिका क्रममा डिवीसरले जागिर मात्र नखाएर गोलागाउँमा सुन्दरता थपेको महशुष गर्नुहुन्छ ।‘न कहिल्यै रिसाउनु भयो,न कसैको चित्त नै दुखाउनुभयो’डिवीसरप्रति सम्मान व्यक्त गर्दै तेञ्जिङले भन्नुभयो ‘यति लामो अवधि संगै बसेर एकै परिवार झैं भएको डिवीसरलाई बिदाई गर्नुपर्दा मन भारी भएको छ’ । डिवीसरले गाउँलाई पु¥याउनु भएको योगदान आफुहरुले कहिल्यै नभूल्ने समेत वालुङले प्रतिबद्धता जनाउनुभयो ।
पूर्वी नेपालको उत्तरी सीमावर्ती क्षेत्र हो ओलाङचुङगोला । गाडी कुद्ने ट्रयाक बल्ल पुगेको ओलाङचुङगोलामा परीक्षणका क्रममा लगिएका बाहेक नियमित सवारी साधन अझै पुगेका छैनन् । सदरमुकाम फुङलिङबाट करिव ९० किलोमिटर पदयात्रा पूरा गरेपछि पुग्न सकिने ओलाङचुङगोला दुर्गम तर पर्यटकिय बस्ति हो । करिव ६२ घर परिवार त्यहाँ बसोबास गर्छन् । २०४२ साल माघ २० गते फक्ताङलुङ गाउँपालिकाको तत्कालिन पार्वती प्राविमा अस्थायी नियुक्त हुनुभएका केसी सोहि बर्षको चैत १८ गते ओलाङचुङगोलाको महेन्द्र आवि पुग्नुभयो । उहाँ त्यहाँबाट कतै जानु भएन । २०४५ साल साउन २५ गते स्थायी भएका उहाँले अनिवार्य अवकासमा परेपछि मात्र गोला छाड्नु भएको छ । भन्नहुन्छ ‘बस्दै जान्दा गोलागाउँबाट अन्यत्र कहिँ जाऔं लागेन,यहीबाट रिटायर्ड भएँ ’ ।
आफुलाई थुप्रै साथीहरु सरुवा भएर आफ्नै घरपायक जानु भनेर धेरै पटक सल्लाह दिएपनि आफुले सरुवाका लागि प्रयास समेत नगरेको केसीले बताउनुभयो । ‘ किन हो किन,गोलाको मोहले तानि रह्यो,गोला छाड्नै मन परेन’उहाँले भन्नुभयो । आफु गोला बसिञ्जेल त्यहाँका समुदायका सदस्यहरुले मन बिझाउने र रुवाउने कुनै काम नगरेको भन्दै केसीले गोलागाउँका बासिन्दाप्रति कृतज्ञता समेत व्यक्त गर्नु भएको छ । करिव साढे ४ सय बर्ष पुरानो मानिएको दिकीछ्योलिङ गुम्बा अवस्थित ओलाङचुङगोला वालुङ शेर्पा समुदायका मानिसहरु बसोबास भएको स्थल हो ।‘ आफुले गलत सोच्नु हुँदैन आफ्नो जिम्मेवारीमा कहिल्यै तलमाथि गर्नु हुदैन,त्यो समाजले कहिल्यै बिर्गादैन’गोलागाउँलाई डिवीसरले यसरी सम्झिनु भएको छ ।