|

पाथीभरा क्षेत्रमा मिलन केन्द्रद्वारा नयाँ चौतारा निर्माण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ८ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङले पाथीभरा क्षेत्रमा चौतारा निर्माण गरेको छ । पाथीभरा पदमार्ग अन्तर्गत मिलन चौतारीस्थलमा मिलन केन्द्रले नयाँ चौतारा (विश्रामस्थल) निर्माण गरेको हो ।
पाथीभरा धाम जाने पदमार्गको मध्य भागमा पर्ने उक्त ठाउँमा विगत २०५९ सालमा कर्मचारी मिलन केन्द्रको तत्कालीन कार्यसमितिले चौतारा निर्माण गरेको थियो । केन्द्रले चौतारा निर्माण गरेपछि सो ठाउँ मिलन चौतारीका नामबाट स्थापित भएको छ । तत्कालीन कार्यसमितिले निर्माण गरेको चौतारा अहिले धेरै पुरानो र जीर्ण भएपछि वर्तमान कार्यसमितिले त्यसलाई विस्थापन गरी नयाँ चौतारा निर्माण गरेको हो ।
पुरानो चौतारा रहेकै ठाउँमा यसअघि भन्दा आकार बढाएर नयाँ चौतारा निर्माण गरिएको कर्मचारी मिलन केन्द्रका जिल्ला अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराइले जानकारी दिनुभयो । सहायक प्रजिअ भट्टराईका अनुसार नयाँ चौतारा निर्माण गर्न करिव तीन लाख रुपैयाँ खर्च भएको छ ।
मिलन केन्द्रको अगुवाइमा ताप्लेजुङमा कार्यरत कर्मचारी र अन्य दाताको सहयोगमा रकम व्यवस्थापन गरिएको मिलन केन्द्रका कोषाध्यक्ष नवराज गिरीले जानकारी दिनुभयो । दाताको सहयोगबापत संकलन भएको रकमसमेत  खर्चिएर नयाँ चौतारा निर्माण गरेको गिरीको भनाइ छ । यता नवनिर्मित चौताराको कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा मिलन केन्द्रका सल्लाहकार तथा दुर्गादल गुल्मका गुल्मपति विक्रम खडका, प्रहरी नायव उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश महर्जन , प्रमुख अनुसन्धान अधिकृत सञ्जय मण्डलसहित मिलन केन्द्रका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रजिअ आचार्यले कर्मचारी र नागरिकको जिम्मेवारी केही फरक भए पनि एकअर्काबिचको दायित्व एउटै भएकाले पाथीभरा दर्शनका लागि आउजाउ गर्ने दर्शनार्थीलाई चौतारा अर्थात विश्रामस्थलले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीलाई स्वागत गर्नुहुँदै मिलन केन्द्रका उपाध्यक्ष तथा कोष नियन्त्रक गणेशकुमार पोखरेलले संस्थालाई सक्रिय र जीवन्त बनाउन कार्यसतिति सधैं क्रियाशील रहने बताउनुभयो ।
केही निस्कृय रहेको मिलन केन्द्रलाई पछिल्लो दुई वर्षयता सक्रिय बनाई थप गतिविधि र कार्यक्रमहरु सञ्चालन गर्दै आएको मिलन केन्द्रकी सचिव तथा नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार पछिल्लो समय मिलन केन्द्रको सक्रियतासँगै केन्द्रले स्मारिका ग्रन्थ ‘मिलन’ नामक पुस्तकसमेत प्रकाशन गरी सकेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts