चालू आवको साउन महिनामै ताप्लेजुङमा झण्डै एकहजारले राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराए

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ४ । ताप्लेजुङमा गत साउन महिनामा करिव एकहजार जनाले राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार साउन महिनामा राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउनेमा पुरुष भन्दा महिला बढी छन् । प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार ४ सय ८३ महिला र ४ सय ५४ पुरुष गरी ९ सय ३७ जनाले चालू आवको सुरुआति महिनामा राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । प्रजिअ आचार्यका अनुसार उक्त महिनामा १ सय ३२ पुरुष तथा ७४ महिला गरी २ सय ४ जनालाई राष्ट्रिय परिचयपत्र बितरण गरिएको छ । अघिल्लो आव २०८०।८१ को एकबर्षे अवधिमा ५ हजार ४ सय ८६ जनाले राष्ट्रिय परिचय पत्रमा नाम दर्ता गराका थिए । उक्त आवका कुनैपनि महिनामा चालू आव २०८१।८२ को साउन महिना दर्ता गराएजति नाम राष्ट्रिय परिचयपत्रमा नाम दर्ता भएको थिएन । गत आवको मंसिर महिनामा सबैभन्दा बढी ५ सय ९५ जनाले राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराएका थिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गत असार मसान्त सम्ममा २४ हजार २ सय ४ जनाले अभियानको रुपमा सञ्चालित कार्यक्रममार्फत राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराएका छन् । यसअघि गाउँगाउँमा सञ्चालित दर्ता अभियानका क्रममा ४६ हजार २ सय ५ जनाले नाम दर्ता गराएका थिए । ताप्लेजुङमा अभियानको रुपमा २०७७ साल साउन १३ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा रहेको केन्द्रमार्फत नाम दर्ता भइरहेको छ । यस्तै साउन महिनामा प्रशासन कार्यालयबाट वंशजका नाताका २ सय ८७ तथा ३ वटा गैर आवासीय नेपाली नागरिकता जारी गरेको छ । प्रशासन कार्यालय ताप्लेजुङले अहिले सम्म १ लाख ८७ हजार ४ सय ४७ थान वंशजको नाताले दिइने नागरिकता बितरण गरेको छ । प्रशासन कार्यालयबाट साउन महिनामा वैवाहिक अंगीकृत नागरिकता जारी भएन । ताप्लेजुङबाट अहिले सम्म १ सय ९१ जनाले वैवाहिक अंगीकृत नागरिकता लिइसकेका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts