संघर्ष स्र्पोटिङ क्लव ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा,१५ मिनेट नसम्हालिदा बाहिरियो सिलगुढी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३ । आमन्त्रित भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लवलाई ७–५ गोल अन्तरले पराजित गर्दै गृहटीम संघर्ष स्र्पोटिङ क्लव फुङलिङले ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणमा बिजयी सुरुआत गरेको छ ।

निर्धारित समयमा बराबरी गोल भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा संघर्षपूर्ण तर उत्कृष्ट प्रर्दशन गर्दै संघर्ष स्र्पोटिङ क्लव फुङलिङले सेमीफाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल ५–५ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १५ मिनेटको अतिरिक्त समयमा कञ्चनजंघाबिरुद्ध संघर्षले गरेका दुई गोलनै निर्णायक बने । खेलको ९७ औं मिनेटमा कप्तान अनुप सेन्दाङको उत्कृष्ट फ्रि–किक गोलमा परिणत भएपछि संघर्ष जीततर्फ उन्मुख भयो । १ सय २ मिनेटमा संघर्षका लागि मञ्जित लिम्बूले अन्तिम र निर्णायक गोल गरे । उनको त्यो गोलसंगै संघर्षले सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । मध्यान्तर अघि सम्म ४–१ ले पछि परेको अवस्था उल्टाउँदै कञ्चनजंघाले मध्यान्तर पछिको खेलमा उत्कृष्ट पुनरागमन गरेपनि जीत भने निकाल्न सकेन ।

मध्यान्तर अघिका अधिकाँस समय कञ्चनजंघा बिरुद्ध हावी देखिएको संघर्ष बिरुद्ध जीत निकाल्न कञ्चजंघा फुटबल क्लवले निकै मेहनेत लगाएपनि अतिरिक्त १५ मिनेटको समयमा सम्हालिन नसक्दा खेलबाट बाहिरयो । संघर्षले खेलको ८ औं मिनेटमा नै दीपेश लिम्बूको गोलबाट अग्रता लिएको थियो । कञ्चनजंघा फुटबल क्लवको कमजोर रक्षापंक्तिलाई चुनौति दिदैं दीपेशले उत्कृष्ट गोल गरे । दोस्रो गोल थप्न संघर्षका लागि धेरै समय पर्खनु परेन । डिवक्स एरियामा संघर्षका खेलाडीलाई फाउल गरेपछि खेलका मुख्य रेफ्री नविन्द्र महर्जनले संघर्षलाई पेनाल्टीको मौका दिए । खेलको १० औं मिनेटमा प्राप्त पेनाल्टीलाई संघर्षका कप्तान अनुप सेन्दाङले कतिपनि गल्ति नगरी गोलमा परिणत गर्दा संघर्षको अग्रता दोब्बर बन्यो । खेलको १८ औं मिनेटमा संघर्षका लागि सविन तामाङले तेस्रो गोल गरे । कमजोर ‘ब्याक लाइन’का बीच गोल रक्षक प्रज्वल शर्माले गोलको उचित दिशा पहिचान गर्न नसक्दा कञ्चनजंघा ३–० को नतिजा सहित दबाबमा प¥यो । खेलको २३ औं मिनेटले सबिन तामाङले आफ्नो टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गर्दा कञ्चनजंघा र संघर्षको गोल अन्तर थप बढ्यो ।

खेलको ४० औं मिनेटमा संघर्षका खेलाडीले कञ्चनजंघाका खेलाडीलाई डिवक्समा फाउल गरेपछि कञ्चनजंघाले पेनाल्टीको अवसर पायो । पेनाल्टी प्रहार गरेका कञ्चनजंघाका जाङपो भोटियाको प्रहार साइड पोलमा लाग्दै गोलमा परिणत भएपछि कञ्चनजंघा गोल अन्तर घटाएर ४–१ को स्थितिमा पुग्यो । मध्यान्तर पछिको खेलमा सुधारिएको खेल पस्किएपनि कञ्चनजंघा गोल गर्नबाट निन्तर चुकी रहयो । खेलको ५६ औं मिनेटमा संघर्षकातर्फबाट मञ्जित लिम्बूले गोल गर्दै आफ्नो बिपक्षी टिमसंगको अंक दुरी फेरि ५–१ मा पु¥याए । खेलको ५९ औं मिनेटमा कञ्चनजंघाका लागि प्रनेस प्रधानले टिमका लागि दोस्रो गोल गर्दै संघर्षसंगको अंक दुरी ५–२ मा ल्याए । खेलको ६९ औं मिनेटमा डिवक्स एरियामा संघर्षबाट भएको फाउल पछि कञ्चनजंघाले पाएको पेनाल्टीलाई जाङपो भोटियाले गोलमा परिणत गरिदिए । खेलमा उनको त्यो व्यक्तिगत दोस्रो खेल थियो । यो संगै खेल ५–३ को अवस्थामा आयो । खेलको ८७ औं मिनेटमा जाङपो भोटियाले पेनाल्टीमार्फतनै गोल गर्दै ह्याट्रिक पूरा गर्दा कञ्चजंघा ५–४ को अवस्थामा आयो ।

निर्धारित समयको अन्त्यमा कञ्चनजंघाका लागि प्रनेस प्रधानले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर अतिरिक्त समयमा गोल गर्न नसक्दा कञ्चनजंघा खेलबाट बाहिरिएको छ । मंगलवार भदौ ४ गते हुने दोस्रो खेलमा समूह ‘बी’ मा रहेका पाँचथर फुटबल क्लव पाँचथर र सिराहाको सलहेश युवा क्लव आमनेसामने हुनेछन् । गोल्डकपका बिजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् । यसपटकको गोल्डकपमा आयोजकले दुर्लभ वन्यजन्तु रेडपाण्डाको मस्कट प्रयोग गरेको छ । विश्वमै दुर्लभ मानिएको रेडपाण्डा ताप्लेजुङका विभिन्न क्षेत्रमा पाइन्छ । दुर्लभ र संरक्षणको आवश्यकता भोगिरहेको यो वन्यजन्तुको संरक्षण सन्देशका लागि रेडपाण्डाको मस्कट प्रयोग गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts