ताप्लेजुङमा रेडपाण्डा संरक्षणका लागि करिव दुई करोड खर्च गर्दै हिमाली संरक्षण मञ्च
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २ । ताप्लेजुङमा रेडपाण्डा संरक्षणको काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले चालू आवमा रेडपाण्डा संरक्षण अभियानका लागि झण्डै २ करोड रुपैयाँ खर्चिने भएको छ ।
जिल्ला परियोजना सल्लाहकार समितिमा आइतबार मञ्चका कार्यक्रम संयोजक रमेश राईले उक्त जानकारी गराउनु भएको हो । रेड पाण्डा नेटवर्कको सहयोगमा मञ्चले ४१ वटा कार्यक्रम सञ्चालन गर्दा उक्त खर्च गर्ने भएको छ । राईका अनुसार यो अवधिमा १ करोड ९२ लाख ५५ हजार ८ सय ३३ रुपैयाँ खर्च हुने छ । यो कर्मचारीको तलव,कार्यालय सञ्चालन सहितको सबै रकम हो । उक्त रकम अनुसन्धान तथा अनुगमन,शिक्षा तथा जनचेतना,दिगो जीवीकोपार्जन र पर्यापर्यटन प्रवद्र्धन शीर्षकमा हुने कार्यक्रम संञ्चालनका क्रममा खर्चिने हिमाली संरक्षण मञ्चले जनाएको छ ।
हिमाली संरक्षण मञ्चले रेडपाण्डाको सम्भावित बासस्थान भएका जिल्लाका सबै क्षेत्रमा रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । हिमाली संरक्षण मञ्चले फुङलिङ नगरपालिका सहितका निकायसंगको सहकार्यमा आउँदो असोज ५ गते रेडपाण्डा म्याराथन समेत गर्नेगरी बजेट बिनियोजन गरेको छ । यस्तै वन अभिभावकका लागि पुर्नताजकी तालिम,रेडपाण्डा अनुगमन ब्लकको पुनः रेखाङ्कन,रेडपाण्डाको नियमित अनुगमन,सामुदायिक वनमा चोरी शिकारी तथा चोरी निकासी न्यूनीकरण अनुगमन,कार्यक्रमका लागि आवश्यक पर्ने उपकरण खरिद,रेडपाण्डा बुलेटिन प्रकाशन सहितका कार्यक्रम हिमाली संरक्षण मञ्चले सञ्चालन गर्ने भएको छ ।
रेडपाण्डाका प्रमुख वासस्थान भएका क्षेत्रका विद्यालयहरुमा रेडपाण्डा तथा वातावरण संरक्षण सम्वन्धी स्थानीय पाठ्यक्रम सञ्चालन,रेडपाण्डा संरक्षण पुरस्कार,रेडपाण्डा संरक्षण सचेतना वोर्ड स्थापना,रेडपाण्डा संरक्षण सचेतना कार्यक्रम,रेडपाण्डा संरक्षण सम्वन्धी वृतचित्र निर्माण,रेडपाण्डा संरक्षण शिक्षाका लागि पोष्टर र पम्प्लेट छपाई,रेडपाण्डाको आहारा प्रजातिका विरुवा उत्पादनका लागि नर्सरी निर्माण,वृक्षरोपण,पानीपोखरी निर्माण,कुकुरहरुका लागि रेविज बिरुद्धको भ्याक्सिन र बन्ध्याकरण अभियान,सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना नविकरण सहितका कार्यक्रम समेत सञ्चालन हुने भएका छन् । यसबर्ष पाथीभरा क्षेत्रमा वन्यजन्तुका लागि आकाशे पुल समेत निर्माण गरिने भएको छ । संरक्षण सिकाईमा नयाँपन दिन उक्त कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक राईले बताउनुभयो ।
अल्लो कपडा बुनाइ,कटाई,सिलाई र प्रविधि हस्तान्तरण सहितका कार्यक्रम हिमाली संरक्षण मञ्चले अघि सारेको छ । गोठमा बस्नेहरुका लागि सोलार सेट बितरण,रेडपाण्डाको बासस्थान व्यवस्थापन तथा बेसलाइन सर्वे,हिमालयन् हाब्रे सेन्टरको थप व्यवस्थापन,हाब्रे संरक्षण केन्द्रको अध्ययन तथा अवलोकनमा आउनेहरुलाई लक्षित गरी बाह्यकक्ष निर्माण सहितका कार्यक्रम सञ्चालन गर्ने हिमाली संरक्षण मञ्चले जनाएको छ ।
जिल्ला परियोजना सल्लाहकार समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि यहाँका सबै स्थानीय तहसँग समन्वय गरी अघि बढ्न आफुले पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । शेर्पाले संरक्षण आफैमा चुनौतीको विषय भएपनि समन्वय गरेर काम गर्नु साझा दायित्व हुने बताउनुभयो । कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,पाथीभरा याङवरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ,डिभिजन वन प्रमुख रामजी शाह,सुरक्षा निकायका प्रतिनिधिहरु,सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा सहितका सरोकारवालाको उपस्थिति रहेको थियो ।