चालू आवको पहिलो महिनामै ताप्लेजुङबाट तीनवटा गैर आवासीय नेपाली नागरिकता जारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३१ । गत एक आर्थिक बर्षमा जम्मा ६ वटा गैर आवासीय नेपाली नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट चालू आवको पहिलो महिनामै तीनवटा यस्तो प्रकृतिका नेपाली नागरिकता जारी भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट प्रमुख कमल गुरागाँईका अनुसार चालू आव २०८१।८२ को सुरु महिना साउनको ३१ गते सम्ममा दुई पुरुष र एक महिला गरी तीनजनाले गैर आवासीय नेपाली नागरिकता लिनु भएको छ । गैर आवासीय नेपाली नागरिकता लिनेमा दुईजना अमेरिका र एकजना हङकङ बस्ने रहनु भएको छ । प्रशासन कार्यालयका अनुसार हङकङ बस्दै आउनु भएकी मेरिङदेन गाउँपालिकाकी रेनुका लिम्बू तथा अमेरिका बस्ने मिक्वाखोला गाउँपालिका वडा नं २ का तोयानाथ ओझा र फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा तेञ्जिङ उक्यापले यो महिनामा गैर आवासीय नागरिकता लिनु भएको छ । उक्याप ओलाङचुङगोला–टिपताला सडक खण्डको ट्रयाक ओपन गर्ने कार्यका लागि एक्लैले आधा करोड बढी रकम लगानी गरेर चर्चामा रहेका व्यक्ति हुनुहुन्छ । आफ्नो जन्मभूमीको विकास र समृद्धिका लागि योगदान दिन सक्ने व्यक्तिको रुपमा उक्यापको नाम लिने गरिन्छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार आव २०८०।८१ को एकबर्षे अवधिमा यहाँबाट कूल ६ वटा गैर आवासीय नेपाली नागरिकता जारी भएका थिए । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयबाट २०८० कात्तिक महिनामा पहिलो गैर आवासीय नेपाली नागरिकता जारी भएको थियो । आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निघुरादिनमा जन्मिएर नर्वेमा बस्दै आउनु भएका विशालकुमार सिटौलाले यहाँबाट पहिलो गैर आवासीय नेपाली नागरिकता लिनु भएको थियो । त्यसपछि २०८० पुस,माघ र चैतमा एक–एक तथा २०८१ साल वैशाख र असारमा एक–एक थान गरी आव २०८०।८१ मा जम्मा ६ जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको थियो ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा,बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको पहिलो प्रमाण चाहिन्छ । यस्तै सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,विदेशी मुलुकको नागरिकता भएको प्रमाण,क्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण र नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र पेश गर्नुपर्ने हुन्छ । विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरुका नातिनातिनासम्मले गैरआवासीय नेपाली नागरिकता पाउँछन् । नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने नियम रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts