ताप्लेजुङमा बजार अनुगमनका लागि अनुगमन कार्यदल कार्यस्थलमा खटिन थाल्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २६ । नियमित कार्यसूची बनाएर अनुगमन हुँदै आएको ताप्लेजुङमा बजार अनुगमनका लागि कार्यदल खटिन थालेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले बजार अनुगमन सुरु गरेको हो । अनुगमन कार्यदल संयोजक तथा सहायक प्रजिअ भट्टराईले नयाँ आर्थिक बर्ष २०८१।८२ को सुरुआतसंगै अनुगमन टोली बजार तथा पसलको अनुगमनका लागि खटिएको बताउनुभयो । अनुगमन टोलीले फुङलिङ बजारको शिक्षा लाइन,बालमन्दिर क्षेत्र र भेटनरी चौक आसपासका बजार तथा पसलको अनुगमन गरेको छ । ‘अनुगमनलाई नियमित र प्रभावकारी बनाउन कार्ययोजना बनाई सोहि अनुसार कार्यान्वयनमा लगिरहेका छौं’ घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले भन्नुभयो । उहाँका अनुसार बैधानिक प्रकृया(दर्ता तथा नविकरण),मूल्यसूची,उपभोग्य हदम्याद अनुसारका समान बिक्री,प्रचलित दररेट र सरसफाई भए नभएको बिषयलाई अनुगमन टोलीले पहिलो प्राथमिकतामा राखेको छ ।

उपभोक्ताको हित अनुकूलको व्यपार व्यवसाय भएको छ की छैन भनेर अनुगमन गर्ने र कैफियत भेटिए सुधार गर्न सकिने हद सम्म सुधारको मौका नभए कानुन अनुसार गर्ने नीति अख्तियार गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो । अनुगमन टोलीले म्याद सकिएका र उपभोग गर्न नमिल्ने प्रकृतिका सामग्री बिक्रीस्थलमा भेटिए जफत गर्ने गरेको जनाएको छ । ‘ पहिलो त हामीले बैधानिक प्रकृया र उपभोक्ता अधिकारप्रति सचेत रही व्यपार पसल सञ्चालनका लागि आग्रह गर्दै आइरहेका छौं ‘ सहायक प्रजिअ भट्टराईले भन्नुभयो ‘ अब कानुन अनुसार अघि बढ्नेगरी कार्यसूची बनाएका छौं ’ ।

अनुगमन टोलीले म्याद सकिएका सामग्री जनाउ दिएर छुट्टै भण्डारण गर्न,म्याद सकिन लागेका सामग्रीको सूची तयार गरी सोहि अनुसार व्यवस्थापन गर्न,प्रचलित दररेट भन्दा महंगो बिक्री नगर्न,मूल्यसूची दैनिक अद्यावधिक गरी उपभोक्ताले देख्नेगरी राख्न,दर्ता र नविकरण प्रकृयामा नगई बजार पसल सञ्चालन नगर्न सचेत समेत गराउने गरेको जनाएको छ । अनुगमन कार्यदलले अनुगमन हुने क्षेत्रको समेत तालिका बनाएको छ । तालिका अनुसार अनुगमन हुने क्षेत्र अनुगनमकै दिन मात्र सार्वजनिक गर्ने गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । अनुगमन टोलीले यहाँका ९ वटै स्थानीय तहसंग समन्वय गरी जिल्ला भरका सबै क्षेत्रमा रहेका बजार पसलको अनुगमन गर्ने कार्ययोजना बनाएको समेत जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts