| |

तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव सुरु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव–२०८१ सुरु भएको छ । जिल्लाकै पर्यटकीय गन्तव्य तोक्पेगोलामा चार दिने तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव शुक्रबारदेखि सुरु भएको हो ।
मिक्वाखोला गाउँपालिका तथा हिमाली तोक्पेगोला युथ क्लबको आयोजनामा महोत्सव सुरु भएको हो । प्रचुर पर्यटकीय सम्भावना बोकेको तोक्पेगोला क्षेत्रको प्रवर्द्धन गर्ने साथै बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको छ । साउन २८ गते सोमबारसम्म सञ्चालन हुने पर्यटन तथा चौँरी महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रम, खेलकुद लगायतका गतिविधि रहने छ ।
तोक्पेगोलामा बसोबास गर्दै आएका सिमान्तकृत ढोक्प्या समुदायको मौलिक संस्कृति प्रदर्शन महोत्सवको आकर्षणको रुपमा रहने छ । त्यस्तै सो क्षेत्रमा रहेको सोदु पोखरी, भूत पोखरी, तीन पोखरीलगायत दर्जनौ पोखरी तथा तालतलैयाको भ्रमण अवलोकन गर्न पाइने छ । त्यहाँको फाँटिलो घाँसे मैदान, हिमाली पशुचौपायाका रुपमा रहेको याक तथा चौँरी, भेडी, दूर्लभ रेडपान्डा (हाब्रे), डाँफे, मुनालजस्ता जीव जनावरको प्रत्यक्ष अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।
यिनै विशेषता रहेको तोक्पेगोला क्षेत्रलाई थप प्रचारप्रसार र प्रवर्द्धन गरी गतिलो पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार खेलकुद गतिविधिअन्तर्गत पुरुष भलिबल प्रतियोगिता, खुला हाफ म्याराथन र तिब्बतीयन संस्कृतिमा आधारित प्यारासो प्रतियोगिता सञ्चालन हुने छ ।
तीन हजार ७०० मिटरको उचाइमा रहेको तोक्पेगोला पुग्नलाई सदरमुकाम फुङ्लिङदेखि दुई दिन लाग्दछ । यसैगरी मिक्वाखोला गाउँपालिकाको मानव बस्ती रहेको क्षेत्रभन्दा झण्डै एक दिन टाढा पर्ने तोक्पेगोला महोत्सवमा एक हजार बढीले सहभागिता जनाउने अपेक्षा राखिएको गाउँपालिका उपाध्यक्ष डण्डुश शेर्पा लामाले बताउनुभयो ।
यसैबीच शुक्रबारदेखि सुरु भएको चार दिने तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवमा गाउँपालिकाले स्थानीय विदा दिएको छ । महोत्सवको विदामा चार दिनसम्म गाउँपालिका कार्यालय, पालिकाका पाँच वटै वडा कार्यालयका अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छ । महोत्सवलाई भव्यरूपमा सफल बनाउन साथै सम्पन्न गर्न सिङ्गो गाउँपालिका नै सहभागी हुनुपरेकाले स्थानीय विदा दिएको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts