दोस्रो ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक,पहिलो खेलमा संघर्ष स्र्पोटिङ र सिलगुढीको कञ्चनजंघा क्लव भिड्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २५ । भदौ ३ गते देखि ताप्लेजुङमा सुरु हुने अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा गृहटिम संघर्ष स्र्पोटिङ क्लवले भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लवसंग उद्घाटन खेल खेल्ने भएको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिले शुक्रबार गोल्डकपको खेल तालिका सार्वजनिक गरेको हो । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार संघर्ष र कञ्चनजंघा समूह ‘ए’ मा छन् । यस्तै ४ गते समूह ‘बी’ को पाँचथर फुटबल क्लव र सिराहाको सलहेश युवा क्लव आमनेसामने हुनेछन् । यस्तै समूह ‘ए’ मा रहेका रुपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लव र सगरमाथा युथ क्लव मोरङको भिडन्त ५ गते हुने छ । ६ गते समूह ‘बी’ को त्रिभुवन आर्मी क्लवले बिर्तामोड युनाइटेड फुटबल क्लव झापासंग प्रतिश्पर्धा गर्ने छ । ७ गते पहिलो सेमीफाइनल र ८ गते दोस्रो सेमीफाईनल हुने छ भने १० गते उपाधि भिडन्त हुने भएको छ । यो पटकको खेल अनिवार्य २ः३० बजे देखि सुरु हुनेगरी खेलस्थल भानुजन माविको खेलमैदान तयारी हालतमा राखिने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।

एकजना फिफा रेफ्री तथा दुईजना राष्ट्रिय रेफ्री सहित यसपटक छ जना रेफ्री प्रयोग गर्ने आयोजक समितिले बताएको छ । साउन महिना भित्रैमा दर्शक बस्ने प्याराफिटको निर्माण कार्य पूरा गरिने गुरुङले बताउनुभयो । बाँसको प्रयोग गरी अस्थायी प्याराफिटको निर्माण कार्य धमाधम भइरहेको छ । स्थायी र अस्थायी गरी १२ हजार बढी दर्शक आँट्ने क्षमताको प्याराफिट तयार गर्ने आयोजक समितिको भनाई छ । यसपटकबाट गोल्डकप प्रतियोगिताका बिजेता र उपबिजेताले पाउने पुरस्कार राशीमा बृद्धि समेत गरिएको छ । गोल्डकपका बिजेताले ५ लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् । ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका प्रथम संस्करणका विजेताले ३ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको नगद पुरस्कार पाएका थिए ।

यसपटक बिधागततर्फ सर्वोत्कृष्ट खेलाडलाई नगद १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । यस्तै उत्कृष्ट गोलकर्ता,उत्कृष्ट फरवार्ड,उदयमान खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts