करिव सैंतिस सय मिटर उचाईको ताप्लेजुङको तोक्पेगोलामा भलिबल र हाफ म्याराथन सहित ४ दिने पर्यटन महोत्सव हुँदै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २० । समुद्र सतहबाट करिव ३ हजार ७ सय मिटरको उचाईमा रहेको ताप्लेजुङको पापुङस्थित तोक्पेगोलामा साउन २५ गतेबाट भलिबल प्रतियोगिता,हाफ म्याराथन प्रतियोगिता सहित ४ दिने पर्यटन महोत्सव हुने भएको छ ।

मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङको तोक्पेगोलामा हुने तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सव मूल आयोजक समितिले आइतवार पत्रकार सम्मेलनमार्फत महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको बताएको छ । ‘महोत्सवका सबै तयारी लगभग सकिदैं गएका छन्’महोत्सव प्रचारप्रसार समिति संयोजक नुपुछिरिङ शेर्पाले भन्नुभयो । पापुङ र तोक्पेगोला क्षेत्र पर्यटकिय सुन्दरताको खानी भएकोले त्यहाँ रहेका पर्यटकिय स्थलहरुको प्रचारप्रसार र बजारीकरणका लागि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।

महोत्सव मूल आयोजक समितिका आर्थिक संयोजक प्रताप साँवा लिम्बूका अनुसार ४ दिने महोत्सवका क्रममा करिव २५ देखि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उहाँका अनुसार करिव ३ हजार ७ सय मिटर उचाईको महोत्सव स्थलमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने छ । प्रतियोगिताका बिजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपबिजेताले ७१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाण–पत्र पाउने भएका छन् । बिजेता रकमको प्रायोजन अमेरिकाको न्यूर्योक बस्ने रेडपाण्डा होटलका प्रोपाइटर सन्तोष शेर्पा तथा उपबिजेताको प्रायोजन हिमालयन् कन्ट्रक्सन प्रालिका प्रोपाइटर इन्द्र केदेमले गर्नु भएको छ ।

तोक्पेगोलाको बस्तिबाट सोदुपोखरी हुँदै करिव १५ किलोमिटर दुरीमा हुने खुल्ला हाफ म्याराथनका बिजेताले नगद ३० हजार,उपबिजेताले नगद २० हजार र तृतीय हुनेले नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने भएका छन् । हाफ म्याराथनका बिजेता रकमको प्रायोजन ताप्लेजुङ विल्र्डस प्रालिका प्रोपाइटर निमा शेर्पा र उपबिजेता रकमको प्रायोजन अमेरिकाको न्यूर्योक बस्दै आउनु भएका ठोक्प्या क्लवका अध्यक्ष ओङदी शेर्पाले गर्नु भएको छ । महोत्सवमा तिब्बतीयन संस्कृतिमा आधारित प्यारासो खेल समेत आयोजना गरिएको छ । उक्त खेलका बिजेताले नगद १५ हजार र उपबिजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्यारासो खेलको बिजेताले पाउने पुरस्कार रकमको प्रायोजन अरुण कन्ट्रक्सनका प्रोपाइटर अर्जुन शेर्पाले गर्नु भएको छ । मिक्वाखोला गाउँ कार्यपालिकाको कार्यालय र मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङको मुख्य प्रायोजनमा हुने महोत्सवमा हिमाली भेगका बासिन्दाको दैनिकी र रहनसहनका साथ चौंरीको महत्वका बारेमा समेत आन्तरिक तथा बाह्य पर्यटक जानकार हुने अपेक्षा गरिएको छ ।

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा पर्यटकिय आर्कषणको केन्द्र रहेको मिक्वाखोला र तोक्पेगोला क्षेत्रको भ्रमण अवलोकनले स्वर्गीय आनन्द प्रदान गर्ने बताउँनुहुन्छ । ‘ आहा ! भनेर गर्व गर्न लायक प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएकोले यसको प्रवद्र्धनका लागि महोत्सव निकै फलदायी हुने उहाँको विश्वास छ । चुनौतिपूर्ण उचाईमा हुने महोत्सव र उच्च तहको लेकाली क्षेत्रमा हुने भलिबल तथा हाफ म्याराथन सहितका प्रतियोगिता आफैंमा महोत्सवका आर्कषण भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावो लिम्बूको भनाई छ ।

‘पर्यटकिय सम्पदाले भरिएको क्षेत्र तोक्पेगोलाको उक्त उचाईमा हुने कार्यक्रम हेर्ने मन कसको नहोला र ?’ महोत्सव मूल आयोजक समितिलाई हौसला प्रदान गर्न पत्रकार सम्मेलनमा उपस्थित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मावोले भन्नुभयो । उहाँले यो तहको उचाईमा उक्त प्रतियोगिता हुन लागेको सम्भवत बिरलै हुने प्रतियोगिता भित्र पर्ने बताउनुभयो । आर्थिक संयोजक साँवा लिम्बूका अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई खाने तथा बस्नेको निःशुल्क व्यवस्था गरिएको छ । महोत्सव अवलोकन गर्न पुग्नेहरुका लागि तोक्पेगोला क्षेत्रमा रहेका बस्तिका घर तथा अस्थायी रुपमा बनाईएका टेन्ट र होटलहरुको व्यवस्थापन गरिएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts