जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङद्धारा तीन आवमध्ये आव २०८०।८१ मा सबैभन्दा बढी राजश्व असुली
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १० । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले पछिल्ला तीन आर्थिक बर्षको तुलनामा आव ०८०।८१ मा सबैभन्दा बढी राजश्व संकलन गरेको छ ।
हिमाली जिल्ला ताप्लेजुङमा पछिल्ला तीनबर्षको तुलनामा आव २०८०।८१ मा सवारी कारवाही पनि बढेका छन् । जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी सहायक निरीक्षक)दीपक न्यौपानेका अनुसार आव २०८०।८१ मा कूल ८ लाख १९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । उनका अनुसार आव २०७९।८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ७ लाख ४७ हजार र आव २०७८।७९ मा ५ लाख ६९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । पछिल्ला तीनबर्षमध्ये आव २०८०।८१ मा सबैभन्दा बढी सवारी कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख न्यौपानेका अनुसार उक्त आवमा १ हजार ३ सय १० सवारी कारवाहीमा परेका थिए । आव २०७९।८० मा कारवाहीमा परेका सवारीको संख्या १ हजार ३ सय तथा आव २०७८।७९ मा ७ सय ५० रहेको थियो । न्यौपानेका अनुसार आव २०८०।८१ मा १५ वटा बस,१ सय १८ वटा ट्रक तथा जीप,कार र भ्यान गरी ६ सय ४३ वटा कारवाहीमा परे । सोहि अवधिमा १ सय ७१ वटा ट्रयाक्टर र ३ सय २८ वटा मोटरसाइकल कारवाहीमा परेका थिए । आव २०७९।८० मा भने २ वटा बस,२५ वटा ट्रक,जीप,कार र भ्यान गरी ५ सय २७ वटा,ट्रयाक्टर १ सय ३४ वटा र मोटरसाइकल ५ सय ४० वटा कारवाहीमा परेका थिए । आव २०७८।७९ मा भने एकवटा बस,११ वटा ट्रक,जीप,कार र भ्यान गरी १ सय ५१ वटा कारवाहीमा परे । सोहि अवधिमा १ सय ३० वटा ट्रयाक्टर र ४ सय ३० वटा मोटरसाइकल कारवाहीमा परेका थिए ।