| |

जन्मोत्सवमा मनसुन पीडितलाई खाद्यान्न सहयोग

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ३ । ताप्लेजुङमा स्थानीय तहका एक जनप्रतिनिधिले आफ्नो जन्मोत्सवको अवसरमा बाढीपहिरो पीडितलाई खाद्यान्न सहयोग गर्नुभएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा लिम्बू (विकास) ले जन्मदिनको अवसरमा बुधबार बाढीपहिरो पीडितलाई खाद्यान्न सामग्री उपलब्ध गराउनुभएको हो ।
उपाध्यक्ष लिम्बूले जन्मदिनको अवसरमा पालिकाभित्र १० परिवारलाई चामल, दाल लगायतका खाद्यान्न सामग्री वितरण गर्नुभएको छ । उहाँले फक्ताङ्लुङ गाउँपालिकाका–१ सावादिनका दुई परिवार र वडा खेजेनिमका आठ परिवारलााई ३० किलोग्राम तौल भएको एक-एक बोरा चामल, एक-एक किलोग्राम दाल, दुई-दुई पोका आयोडिन नुन र एक-एक पोका खानेतेल वितरण गर्नु भएको हो ।
गत जेठ अन्तिम सातापछि भित्रिएको मनसुनी वर्षाका कारण जिल्लाका अधिकांस ठाउँमा गएको बाढीपहिरोले धेरै परिवारलाई प्रभावित बनाएको छ । बाढीपहिरोकै कारण सावादिन र खेजेनिममा प्रभावित भएका परिवारलाई थोरै भए पनि राहत पु¥याउने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरेको उहाँले बताउनुभयो ।
उपाध्यक्ष लिम्बू खेजेनिम निवासी हुनुहुन्छ भने उहाँ आफैँ पहिरो पीडित परिवारको रुपमा रहनुभएको छ । गत जेठ ३१ गते राति गएको पहिरोले घर बगाउँदा ७० वर्षीय बाबु रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ४८ वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनी गंगा र जमुनालाई उहाँले गुमाउनुभएको छ । असह्य शोककाबिच उपाध्यक्ष लिम्बू सामाजिक काममा भने सक्रिय रहँदै आउनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts