एक आर्थिक बर्षमा ताप्लेजुङबाट ६ जनाले लिए गैर आवासीय नागरिकता,१३ जनालाई बैबाहिक अंगीकृत नागरिकता प्रदान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०८०।८१ को एकबर्षे अवधिमा ६ वटा गैर आवासीय तथा १३ वटा बैबाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार २०८० साल कात्तिक,पुस,माघ र चैतमा एक–एक गरी चार तथा २०८१ साल बैशाख र असार एक–एक थान गरी जम्मा ६ जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान भएको छ । यस्तै २०८० साल साउनमा १,असोजमा २,कात्तिकमा १,मंसिरमा २,पुसमा १ र माघमा ३ तथा २०८१ साल बैशाख र असारमा १–१ तथा जेठमा २ गरी आव २०८०।८१ मा १३ जनालाई बैबाहिक अंगीकृत नागरिकता प्रदान गरिएको समेत प्रशासन कार्यालयले जनाएको छ । यस्तै २०८० साल साउनमा ३ तथा भदौमा १ गरी ४ जना जन्मका सन्तानलाई बंशजका आधारमा नागरिकता प्रदान गरिएको समेत सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

नेपालको संबिधान २०७२ को धारा ११ को उपधारा(३)मा जन्मका आधारमा बंशजको नागरिकता दिने सम्वन्धी व्यवस्था रहेको छ । जसमा जन्मका आधारमा नेपाली नागरिकता प्राप्त सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण–पत्र संलग्न राखी नेपाली नागरिकता पाउन निबेदन दिएमा नेपाल नागरिकता ऐन २०६३,नेपाल नागरिकता नियमावली २०६३ र नागरिकता प्रमाण–पत्र कार्यविधि निर्देशिका २०६३ बमोजिमको प्रकृया अपनाई जेजे बुझ्नुपर्छ बुझेर नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

गृह मन्त्रालयले २०७५ साल चैत १९ गते देशभरका प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई बंशजका आधारमा नागरिकता प्रदान गर्ने बारेको परिपत्र गरेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आव २०८०।८१ मा कूल ३ हजार ७ सय ३ जनालाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान गरेको छ भने २ हजार ६ सय ४६ जनालाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि दिएको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts