| |

ताप्लेजुङबाट ४९ करोड बजेट फ्रिज

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २ । ताप्लेजुङबाट गत आर्थिक वर्षमा ४९ करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात फ्रिज भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक गणेशकुमार पोखरेलका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा कुल ४९ करोड ९६ हजार ३२८ रुपियाँ रकम फ्रिज भएको छ । ताप्लेजुङका लागि प्रदेश तथा संघीय सरकारले विनियोजन गरेको बजेटबाट उक्त बजेट फ्रिज भएको वा खर्च हुन नसकेको कोष नियन्त्रक पोखरेलले जानकारी दिनुभयो ।
गत आवको चालु बजेटतर्फ ३१ करोड ८८ लाख छ हजार १७३ रुपियाँ फ्रिज भएको प्रारम्भिक तथ्यांक रहेको पोखरेलले बताउनुभयो । यस्तै पुँजीगत बजेटतर्फ १७ करोड २२ लाख ९० हजार १५५ रुपियाँ रकम खर्च नभएको अर्थात फ्रिज भएको कोष नियन्त्रक पोखरेलले जानकारी दिनुभयो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघ र प्रदेश दुवैतर्फ आव २०८०/८१ मा जिल्लाका लागि कूल पाँच अर्ब ६३ करोड ५० लाख ७५ हजार ४३८ रुपियाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये संघतर्फ चार अर्ब ३९ करोड ५१ लाख ९१ हजार ८२६ रुपियाँ चालु र ६० करोड ११ लाख ३० हजार ५०४ रुपियाँ पुँजीगत रहेको थियो ।
त्यस्तै गत आवका लागि प्रदेशतर्फ चालु बजेट ४२ करोड ९७ लाख ५१ हजार १०८ रुपियाँ र पुँजीगत बजेट २० करोड ९० लाख दुई हजार रुपियाँ बजेट यस जिल्लाका लागि विनियोजन भएको थियो । यता स्थानीय तहहरुको पूर्ण खर्च विवरण आइनसकेकाले हालको प्रारम्भिक तथ्यांकमा केही तलमाथि हुन सक्ने कोष तथा लेखा नियन्त्रक कार्यालयका सह–लेखापाल नवीन खनालले बताउनुभयो ।
खनालका अनुसार स्थानीय तहलाई निकासा भएको बजेटमा रकम खर्चको प्रारम्भिक तथ्यांकभन्दा खर्चको अवस्था घटेर आउन सक्ने छ । साउन १५ पछि मात्र यकिन बजेट खर्च वा कारोबार विवरण आउने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts