सिसेक्पा तङ्नाममा शुभकामना आदानप्रदान
-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १ । साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले ‘सिसेक्पा तङ्नाम’ भन्ने गर्दछन् । सिसेक्पा तङ्नाम अर्थात साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले आफ्नो मौलिक पर्वका रुपमा मनाउने गरिएको पाइएको छ । मौलिक पर्वका रुपमा मनाउँदै आएका ताप्लेजुङसहित पूर्वका किराँत लिम्बू समुदायले साउन १ गते मंगलबार अर्थात सङ्क्रान्ति पर्व (सिसेक्पा तङ्नाम) भव्य रुपमा मनाएका छन् ।
लिम्बू समुदायले सिसेक्पा तङ्नाम शुभकामना आदान–प्रदानसहितका कार्यक्रम गरी मनाएका छन् । ताप्लेजुङमा लिम्बू समुदायले मौलिक संस्कृति प्रस्तुतिसहित शुभकामना आदानप्रदान गरेर सिसेक्पा तङ्नाम मनाएका छन् । जिल्लास्थित किराँत याक्थुङ चुम्लुङ र याक्थुङ कलाकार मञ्चले संयुक्त कार्यक्रमको आयोजना गरी सिसेक्पा तङ्नाम भव्य रुपमा मनाएका हुन् ।
किरात याक्थुङ चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोले सिसेक्पा तङ्नामको अवसरमा शुभकामना आदानप्रदानसहित साँस्कृतिक कार्यक्रम गरेर तङ्नाम मनाएको बताउनुभयो । लिम्बू समुदायका अगुवा, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागितामा शुभकामना आदानप्रदानसहितको कार्यक्रम सम्पन्न गरिएको मेन्याङ्बोले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा लिम्बू जातिको मौलिक संस्कृतिअन्तर्गत याःलाङ (धान नाच) र केःलाङ (च्याब्रुङ नाच) प्रस्तुत गरिएको थियो ।
यता साँझपछि किराँत लिम्बू समुदायले आफ्नो इष्टदेवको सम्मानमा नयाँ पाकेका फलफूल चढाउने गर्दछन् । सङ्क्रान्तिका दिन बिहानदेखि विशेष खानपानसँगै दिउँसो शुभकामना सहितका औपचारिक कार्यक्रम र साँझ अन्न, फलफूल र कुरिल्लोको पातहरु सङ्कलन गरेर डोरीले बाँधेर ढोकामा झुन्ड्याउने गरिन्छ । हरियो बाबियोको डोरी बनाई अन्न, फलफूल र अन्य पातहरु लहरै सिउरेर घरको मूल ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको कियाचुकी जिल्ला अध्यक्ष मान्याङबोले जानकारी दिनुभयो ।
बेलुकीको खाना खाई सकेपछि छरछिमेक सबैले एकसाथ बन्दुक पड्काउने, थाल, झ्याम्टा, ढोल बजाउने, नाङ्लो ठटाउने लगायतका गतिविधि गरी सिसेक्पा तङ्नामको समापन गर्ने गरिएको पनि कियाचु अध्यक्ष मेन्याङ्बाले बताउनुभयो । उहाँका अनुसार घर वा समाजमा भएको खराव तत्वको अन्त्य हुने परम्परा अनुसार किराँत लिम्बू समुदायले सिसेक्पा तङ्नाम एक विशेष महत्वका साथ मनाउने गर्दछन् ।