अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ३१ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा अन्तर–जातीय विवाह गर्ने जोडी सम्मानित भएका छन् । अन्तर–जातीय अर्थात दलित र गैर दलितबिच विवाह गर्ने जोडीलाई गाउँपालिकाले सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर) का अनुसार अन्तर–जातीय विवाह गर्ने १० जोडीलाई सम्मान गरिएको छ । गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अन्तर–जातीय विवाह गर्ने जोडीलाई नगदसहित सम्मान गरिएको अध्यक्ष हाङगामले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रत्येक विवाहित जोडीलाई पाँच हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ । गाउँपालिकाभित्र दलित र गैर दलितविच वैवाहिक सम्बन्ध जोडेका अर्थात अन्तर–जातीय विवाह गरेका १६ जोडीलाई निमन्त्रणा थियो । गाउँपालिकाले निमन्त्रण गरेकामध्ये छ जोडी जिल्ला बाहिर रहेका र कार्यक्रममा उपस्थित १० जोडीलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष दुर्गा श्रेङ चोङ्वाङले बताउनुभयो ।
गाउँपालिकाका ६ वटा वडामध्ये अन्तर–जातीय विवाह गर्ने वडा १ थिङ्लाबुमा एक जोडी, वडा २ सान्थाक्रामा तीन जोडी, वडा ३ खाम्लुङ, वडा ४ लिङ्तेप र वडा ५ थुकिमामा एक/एक जोडी रहेका छन् । त्यस्तै सबैभन्दा बढी वडा ६ नाल्बुमा नौ जोडीले अन्तर–जातीय विवाह गरेका गाउँपालिकाको तथ्यांक रहेको छ । अन्तर–जातीय विवाहित जोडीलाई सम्मानसँगै छुवाछूत विरुद्धको छलफल तथा सचेतना कार्यक्रम पनि सम्पन्न गरिएको छ ।
मेरिङ्देन गाउँपालिकालाई छुवाछूत मुक्त पालिका घोषणा गर्ने अभियानस्वरुप अन्तर–जातीय अर्थात दलित र गैर दलितबिच वैवाहिक सम्बन्ध कायम गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताउनुभयो । उहाँले अन्तर–जातीय विवाह गर्ने जोडीलाई गरिएको सम्मानले सकारात्मक सन्देश दिने र जातीय छुवाछूत तथा भेदभाव अन्त्य गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विगत २०७२ साल पुस १४ गते हालको वडा ६ साविक नाल्बु गाउँ विकास समितिलाई जिल्लामै पहिलो पटक छुवाछूत मुक्त क्षेत्र घोषणा गरिएको थियो । अब सिंगो गाउँपालिकालाई नै छुवाछूत मुक्त घोषणा गर्नेगरी गाउँपालिकाले योजना अघि बढाएको छ ।