| |

ताप्लेजुङमा भेटेरिनरी अस्पताल पुनः स्थापना

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २८ । देश संघीय संरचनामा गएपछि ताप्लेजुङबाट हटाइएको तत्कालीन पशु सेवा कार्यालय पुनः भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका रुपमा स्थापना गरिएको छ । ताप्लेजुङ जिल्ला सेवा क्षेत्र रहनेगरी भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएसँगै शुक्रबार कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले उद्घाटन गर्नुभएको छ । विज्ञ भेटेरिनरी अस्तपात तथा पशु सेवा विज्ञ केन्द्रको उद्घाटन गर्नुहुँदै मन्त्री राना मगरले अब ताप्लेजुङवासीले विज्ञ केन्द्रमार्फत प्रवाह हुने सबैखाले सेवा जिल्लाबाटै प्राप्त गर्ने बताउनुभयो ।
विज्ञ केन्द्रको सम्पर्क कार्यालय मात्र रहँदै आएकोमा कार्यालय नै स्थापना भएपछि कार्यालयको क्षेत्राधिकारमा पर्ने सबैखाले सेवा प्रवाहसहित आउँदो साउनदेखि पूर्ण रुपमा सञ्चालनमा आउने बताइएको छ । जिल्लास्थित विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख अमितकुमार माझीका अनुसार आर्थिक कारोबारसहित केन्द्रले प्रदान गर्ने सबै सेवा प्रवाह हुने छ ।
हालसम्म भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पाँचथरबाट ताप्लेजुङका लागि सेवा प्रवाह हुँदै आएको थियो । केन्द्रले पशुचौपाया तथा पन्छीसम्बन्धी सम्पूर्ण क्रियाकलापहरु गर्ने निमित्त कार्यालय प्रमुख माझीले बताउनुभयो । उहाँकाअनुसार पशुपालन तथा प्रवद्र्धनसम्बन्धी कार्यक्रम, औषधोपचार साथै कृषि ज्ञान केन्द्रलगायत सरोकारवाला निकायसँग समन्वय र साझेदारी गरेर अन्य कार्यक्रमसमेत विज्ञ केन्द्रले गर्ने छ ।
यता उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य आइन्द्रसुन्दर नेम्बाङ, कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । तत्कालीन पशु सेवा कार्यालयजस्तै विज्ञ केन्द्रबाट सेवा प्रवाह भई जिल्लावासी सेवाग्राहीले प्रत्यक्ष लाभ पाउने अपेक्षा राखेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts