ताप्लेजुङका पालिका तथा वडाको घोषणा : मृतक सदस्यका आफन्तलाई नगद,सुत्केरीलाई पोषण सामग्री

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १७ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले आगामी आर्थिक बर्षदेखि मृतक परिवारका सदस्यलाई क्रियाखर्च र सुत्केरी सदस्यलाई पोषण सामग्री उपलब्ध गराउने भएको छ ।

फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहनु भएका वडाध्यक्ष क्षितिज सुनुवारले मृत्यु भएका वडाभरीका नागरिकका आफन्तलाई नगद १० हजार रुपैयाँ क्रियाखर्च उपलब्ध गराउने बताउनुभयो ।‘वडाभरीका नागरिक मृत्यु भएमा काजक्रिया अवधिमै मृतक सदस्यका आफन्तलाई यस्तो सहयोग उपलब्ध गराइने छ’उहाँले भन्नुभयो ।

वडाभरीका सुत्केरीहरुलाई जनही ५ हजार रुपैयाँ बराबरको पोषण सामग्री लिएर वडाका पदाधिकारीहरु सुत्केरी सदस्यको घरघरमै जाने व्यवस्था गरिएको समेत सुनुवारले जानकारी दिनुभयो । पोषण सामग्रीमा घीउ,कुखुरा,अण्डा,हर्लिक्स,चना,मटर,ज्वानो सहितका सामग्रीको प्याकेट तयार गर्ने वडाले योजना बनाएको जनाएको छ । यसअघि सो वडाले वडाभरीका ७ वटा बिद्यालयमा उत्कृष्ट हुने प्रत्येक बिद्यालयका तीनजना गरी २१ जना बिद्यार्थी,उत्कृष्ट ७ शिक्षक र उत्कृष्ट ७ बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई पुरस्कृत तथा सम्मानित गर्ने घोषणा गरिसकेको छ ।

७ वटा बिद्यालयहरुमा अध्ययरत बिद्यार्थीमध्ये बिद्यालयमा नियमित उपस्थित,सरसफाईमा ध्यान दिने,पढाईमा लगनशिल,जेहेन्दार र इमान्दार हुने प्रत्येक बिद्यालयका तीनजना बिद्यार्थी पुरस्कृत हुनेछन् । पहिलो हुनेलाई नगद १५ हजार,द्धितीय हुनेलाई नगद १० हजार र तृतीय हुनेलाई नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिने सुनुवारले जानकारी दिनुभयो । यस्तै वडाभरी रहेका प्रत्येक बिद्यालयका उत्कृष्ट शिक्षकलाई नगद १० हजार रुपैयाँ सहित पुरस्कृत गरिने भएको छ । वडाभरी रहेका बिद्यालयका उत्कृष्ट बिद्यालय व्यवस्थापन समिति र उत्कृष्ट शिक्षक अभिभावक संघका अध्यक्ष समेत पुरस्कृत तथा सम्मानित हुनेछन् । फुनपा ८ ले आगामी आर्थिक बर्षमा वडाभरीका चश्मा लगाउनैपर्ने नागरिकलाई निःशुल्क चश्मा उपलब्ध गराउने बजेट बनाएको छ भने वडाभरीका सबै नागरिकको आँखा परीक्षणको प्रवन्ध गरेको छ । यस्तै घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम समेत राखेको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।

उता,सिरिजङ्गा गाउँपालिकाले बजेटमै पालिकाभरीका नागरिकको मृत्यु भएका उनीहरुका आफन्तलाई क्रिया खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ । मृत्यु जस्तो दुःखको क्षणमा मृतकका आफन्तलाई परेको मार्काप्रति पालिकाकोतर्फबाट सहानुभूति स्वरुप बजेटमा यस्तो व्यवस्था गरिएको पालिका अध्यक्ष लालकृष्ण चौहानले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts