| |

ताप्लेजुङमा २९ प्रतिशत रोपाइँ सकियो

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १५ । ताप्लेजुङमा हालसम्म उनन्तीस प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा जेठ महिनादेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि यसवर्ष हालसम्म असार १५ सम्म २९ प्रतिशत मात्र रोपाइँ सकिएको हो ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षको तुलनामा यसवर्ष आठ प्रतिशत कम रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गतवर्ष असार १५ सम्ममा ३७ प्रतिशत रोपाइँ भएको थियो । ढिलोगरी वर्षा भएका कारण कम रोपाइँ भएको बताइएको छ ।
हालसम्म जिल्लाको उच्च अर्थात लेक क्षेत्रमा रोपाइँ भएको छ । लेकाली भेगमा असार पहिलो साता सम्ममा रोपाइँ सकिनुपर्नेमा यो वर्ष समयमा वर्षा नभएकाले धान रोपाइँ नभएको स्थानीय किसानले बताएका छन् । हिजोआज तल्लो भेग अर्थात बेँसी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । असार महिनाको सुरुदेखि नै वर्षा भएकाले अहिले रोपाइँ गर्नलाई सहज भएको पनि किसानको भनाइ छ ।
यता शनिबार राष्ट्रिय धान दिवसका दिन फुङ्लिङ नगरपालिकासहित विभिन्न स्थानीय तहमा रोपाइँ गरिएको छ । फुङ्लिङ नगरपालिका–३ क्यानिम टोलमा सामुहिक धान रोपाइँ गरेर दिवस मनाइएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापामगरले जानकारी दिनुभयो । उहाँकाअनुसार राष्ट्रिय कृषक समूह महासङ्घको आयोजना र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ ।
यस जिल्लाका बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरिएको किसान बताउँछन् । उन्नत जातको धानबालीतर्फ पनि किसान आकर्षित हुँदै गएको पाइएको छ । यहाँ सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातको धानखेती किसानले लगाउँदै आएका बताइएको छ । ताप्लेजुङमा करिव आठ हजार ३३७ हेक्टर क्षेत्रफल बराबरमा धान रोपाइँ हुने गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts