जिल्ला विपद् व्यवस्थापन समिति र सिरिजङ्गा गाउँपालिकाले पहिरोबाट प्रभावितलाई राहत रकम उपलब्ध गराउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ७ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले बाढी र पहिरोका कारण पूर्ण बिस्थापित तथा उच्च जोखिममा रहेका पालिका क्षेत्रका २२ घरधुरीलाई नगद राहत रकम उपलब्ध गराउने भएको छ ।
पालिकाले जोखिममा रहेका ५४ घर परिवारलाई एक–एकथान त्रिपाल उपलब्ध गराउने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार पूर्ण बिस्थापित ११ घरधुरीलाई १५ हजार रुपैयाँका दरले राहत रकम दिइने छ । त्यहाँ पूर्ण बिस्थापित भएका उक्त संख्याका परिवारका लागि जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले पठाएको प्रतिघरधुरी १५ हजार रुपैयाँ समेत थप गरी राहत रकम उपलब्ध गराउने सिरिजङ्गा गाउँपालिकाले जनाएको छ । यस्तै उच्च जोखिममा रहेका ११ घरधुरीलाई ५ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने पालिकाले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले यसअघि सिदिङ्वा गाउँपालिकाका पूर्ण क्षति,उच्च जोखिम र जोखिममा रहेका ८ घरधुरीलाई ५ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराईसकेको छ । पहिरोले पुरिएर ज्यान गुमाएका फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमका रामबहादुर साम्रा लिम्बूको परिवारलाई कोशी प्रदेश सरकारले यसअघि नै तीनलाख रुपैयाँ उपलब्ध गराई सकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । पहिरोमा परी रामबहादुर,उहाँकी श्रीमति र दुई जुम्ल्याहा छोरी गरी एकै परिवारका ४ जनाको मृत्यु भएको थियो ।