सुकेटार विमानस्थलमा तीन सातादेखि उडान ठप्प
-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ६ । ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा तीन साता बढी समयदेखि उडान ठप्प भएको छ । प्रतिकूल मौसमका कारण एकमात्र नेपाल वायु सेवा निगमको उडान ठप्प भएको हो ।
बर्खा मौसम सुरु भएसँगै सुकेटार विमानस्थलमा हवाई उडान अवरुद्ध बनेको हो । सदरमुकाम फुङ्लिङस्थित नेपाल वायु सेवा निगमको स्टेसन कार्यालयका अनुसार मौसम प्रतिकूलताकै कारण उडान ठप्प भएको छ ।
स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार गत जेठ ११ गते शुक्रबारदेखि सुकेटार विमानस्थलमा उडान बन्द भएको छ । जेठ दोस्रो सातापछि प्रायः मौसम नखुलेको अर्थात बाक्लो हुस्सु र कुहिरो लाग्न थालेकाले उडान हुन नसकेको स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो । पछिल्लो डेढ सातायता भने दिनहुँजसो वर्षा भइरहेकाले झनै उडान सञ्चालन हुने स्थिति नरहेको स्टेसन कार्यालयले जनाएको छ ।
यता उडान ठप्प हुँदा सेवाग्राही सेवा उपभोग गर्नबाट बञ्चित भएका छन् । उडान नहुँदा ताप्लेजुङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक साथै अन्य सेवाग्राहीले हवाई सेवा लिन नपाएका हुन् । अब मौसममा सुधार नआएसम्म उडान अनिश्चित रहेको पनि नेपाल वायु सेवा निगमको स्टेसन कार्यालयले जनाएको छ ।
नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले हप्ताको एकदिन बुधबार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्दै आएको छ । निगमले पर्यटकीय मौसम अर्थात हिउँद याममा भने हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान सञ्चालन गर्ने गरेको छ ।