जनताका गुनासो सुन्न र आगामी आवको बजेटबारे राय माग्दै ताप्लेजुङको आठराई त्रिबेणीको टोली वडा–वडामा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ६ । जनप्रतिनिधिहरु माथि लाग्ने गरेका कयौं आरोपमध्ये जन गुनासोको सुनुवाई हुदैन भन्ने पनि एक हो । यस्तो अवस्थाको अन्त्यका लागि ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका जनप्रतिनिधिहरु यतिबेला जनताको गुनासो सुन्न वडा–वडा पुग्ने गरेका छन् ।

गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)आफुहरु वडा–वडा पुग्नुको खास उद्देश्य रहेको बताउँनुहन्छ । उहाँका अनुसार पहिलो भनेको गाउँपालिकाले प्रदान गरिरहेको सेवा प्रवाह,जनप्रतिनिधि र कर्मचारी जनताप्रति उत्तरदायी भए नभएको बिषयमा जनताको गुनासो लिनु र जनताको पक्षमा सेवा प्रवाह हुने वातावरण बनाउनु हो । दोस्रो भनेको पालिकाले सञ्चालन गरेका योजनाको प्रभावकारिता मापन गर्नु हो । आगामी आर्थिक बर्षको नीति,कार्यक्रम र बजेटमा समेट्नुपर्ने बिषयमा जनताका राय लिनु तेस्रो उद्देश्य रहेको पालिका अध्यक्ष पोमूले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ आर्थिक बर्षको अन्त्यतिर एक आर्थिक बर्षमा प्रवाह भएको सेवा सन्तुष्टी बारे जनताको अभिमत लिनु उपयुक्त देखेर आफुहरु जनताका घरदैलौमा पुग्न थालेको बताउँनुहुन्छ ।‘पालिकाले प्रदान गरिरहेको सेवा प्रवाहको अवस्था मापन गरी सुधार गर्नुपर्ने बिषयका बारेमा जानकारी हाँसिल गर्नु यो अभियानको प्रमुख उद्देश्य हो’आङवुहाङले भन्नुभयो ।

पालिका अध्यक्ष पोमू जनताको सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएकोले स्थानीय सरकारलाई जनताकै सरकार भएको अनुभूत हुनेगरी काम गर्न आफुहरुले जनताका बीचमा जाने र उहाँहरुका गुनासो,राय तथा सुझाव ग्रहण गर्ने अभियान थालेको बताउँनुहुन्छ । उहाँले आगामी आर्थिक बर्षको नीति,कार्यक्रम तथा बजेट बनाउने तयारीमा रहेको बेला जनताले दिएका सुझावका आधारमा कार्यक्रम तथा बजेट बनाउने विश्वास समेत दिलाउनु भएको छ । एक आर्थिक बर्षभरी सञ्चालन भएका योजना तथा कार्यक्रमको प्रभावकारिता मापन तथा सञ्चालित योजना तथा कार्यक्रम जनताका पक्षमा स्थापित हुन सके या सकेनन् भनेर मूल्याङ्कनका लागि पनि आफुहरु वडा–वडाका बासिन्दासंगको छलफलमा रहेको अध्यक्ष पोमूले बताउनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराई चालू आर्थिक बर्षका अधिकाँस योजना तथा कार्यक्रमको कार्यान्वयन सकिन लागेकोले तिनीहरुको अवस्थाकको अनुगमन तथा सेवा प्रवाहको अवस्था विश्लेषणका लागि पनि पालिकाको टिम यो बेला जनताका अघि प्रस्तुत भएको बताउँनुहुन्छ । जनताको गुनासो,सुझाव र राय ग्रहण गरेर सोहि अनुसार जनताका पक्षमा काम गर्ने वातावरण यो दौडाईले पूरा गर्ने भट्टराईको विश्वास छ । यो अभियानमा वडाभरी सञ्चालित योजना तथा कार्यक्रमको मुख्य जवाफदेहि वडापालिकालाई बनाईएको छ ।

आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ जनताका गुनासो सुन्न तथा उनीहरुका राय र सुझाव लिन हिच्किच गर्ने गलत परम्परा विपरित आठराई त्रिबेणीको अहिलेको सरकारका पदाधिकारी जनताका बीचमा पुगेको बताउँनुहुन्छ ।‘हामी उहाँहरु(जनता)का माझ जान्छौं,गुनासो सुन्छौं,सुझाव ग्रहण गर्छौं र समस्या भए सुधार गर्छौ,उपयुक्त सुझाव कार्यान्वयनमा पनि ल्याउँछौं’आठराई त्रिबेणी गाउँपालिको सामाजिक विकास समिति संयोजक समेत रहनु भएक सेन्दाङले भन्नुभयो ।

वडा नं १ का वडाध्यक्ष रामप्रसाद पाठक जनताका गुनासो सुन्न डराउने नभई उनीहरुका गुनासोको उचित सम्बोधन र उपयुक्त रायको ग्रहणले मात्र सेवा सुधारमा विश्वसनीयता कायम हुने बताउँनुहुन्छ । गाउँपालिकाले कार्यपालिका सदस्य समेतलाई विभागीय जिम्मेवारी दिएर पालिका सरकारका कामहरुमा समग्र अपनत्व बढाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार वडा नं २ फुलवारीबाट सुरु भएको जनताको गुनासो सुन्ने र सुझाव ग्रहण गर्ने कार्यक्रम वडा नं १ निघुरादिनमा सकिएको छ । असार ६ गते वडा नं ५ चाँगे,असार ७ गते वडा नं ४ चाँगे र असार ८ गते पालिकाको केन्द्र समेत रहेको वडा नं ३ हाङपाङमा जनताको गुनासो र सुझाव ग्रहणको कार्यक्रम राखिएको भट्टराईले बताए । नीति,कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा रहेको र जनताबाट प्राप्त सुझाव समेतलाई समेटेर आगामी आवको नीति,कार्यक्रम तथा बजेटको अन्तिम तयारी गर्ने पालिका अध्यक्ष पोमूले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts