|

ताप्लेजुङमा पहिरोले ८१ परिवार विस्थापित

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ५ । ताप्लेजुङमा बाढी पहिरोका कारण मंगलबार सम्ममा एकासी परिवार विस्थापित भएका छन् । प्रहरीले दिएको विवरणअनुसार पानी पर्न थालेको डेढ साताको अवधिमा विभिन्न समयमा गएको पहिरोले उक्त परिवारहरु विस्थापित भएका हुन् ।
जेठ २७ गते आइतबारदेखि वर्षा हुन थालेको र हालसम्म बाढीपहिरोले मानवीयसहित ठूलो धनसम्पत्तीको क्षति गरेको जिल्ला प्रहरी कार्यायल ताप्लेजुङले जनाएको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार बाढीपहिरोका कारण हालसम्म आठ घर पूर्णरुपमा क्षति भएका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा गरी १८ घर उच्च जोखिम र ५५ घर जोखिममा रहेको विवरण संकलन भएको प्रनाउ रावलले जानकारी दिनुभयो । उहाँकाअनुसार उच्च जोखिम, जोखिम र घर पूर्णरुपमा भएकासमेत ८१ परिवारले बाढीपहिरोका कारण विस्थापित हुनुपरेको छ । विस्थापित परिवारका १६३ जना महिला र १७९ पुरुष गरी ३४२ जनाले सुरक्षित ठाउँमा कोही आफन्तको शरण तथा कोहीले विद्यालयमा बस्दै आएका बताइएको छ ।
यस्तै बाढीपहिरोले गरेको अन्य क्षतितर्फ गाडी गुड्ने (मोटरेवल) काठे पुल दुईवटा, झोलुंगे पुल एक र मानिस हिड्ने सिमेन्ट ढलान भएको पुल एउटा बगाएको छ । क्रसर उद्योग एक, सवारी साधन चार, पशुपालन फर्म एक र नौवटा गोठमा बाढीपहिरोले क्षति गरेको प्रहरीले जनाएको छ । त्यस्तै नौवटा नगदेबाली अलैँची खेती भएको जमिनमा पहिरोले क्षति गरेको छ ।
यसैगरी हालसम्म बाढीपहिरोले बगाएर र पुरिएर ८४ वटा चौपाया मरेका छन् । पहिरोमै परेर ३१ वटा पशुपन्छी मरेका छन् । हालसम्म पहिरोमा परेर तीनजना महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बाढी पहिरोका कारण एक महिला र एक पुरुष गरी दुईजना घाइते भएका छन् । निरन्तरको वर्षाका कारण बाढी र पहिरो जाँदा जिल्लाका अधिकांस सडकमा क्षति पुगेको छ भने केही सडकहरु पूर्णरुपमा अवरुद्ध भएको पनि प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts