ताप्लेजुङको आठराई त्रिबेणीद्धारा पालिकाका प्रत्येक वडामा पुगेर सार्वजनिक सुनुवाई,बजेटमा समेट्नुपर्ने बिषय समेत माग

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ४ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले आफ्नो थातथलो छाडेर बाहिर नजाने स्थानीयको अडानका कारण हिमाली र पहाडी जिल्लाहरुमा एकीकृत बस्ति विकासको योजना सफल हुनेमा शंका जनाउनु भएको छ ।

आठराई त्रिबेणी गाउँपालिकाले जनताका गुनासो राय,सुझाव ग्रहण गर्न वडागत रुपमा सुरु गरेको सार्वजनिक सुनुवाईको पहिलो दिन वडा नं २ फुलवारीका सेवाग्राहीले उठाएको सवालमा अध्यक्ष पोमूले उक्त कुरा बताउनु भएको हो । सेवाग्राही शंकर भट्टराईले एकीकृत बस्ति व्यवस्थापनमा पालिकाले अभियान चाल्नुपर्ने भन्दै यसका बारेमा पालिकाको योजना के छ भनी जिज्ञासा राख्नु भएको थियो । उहाँले पालिकामा शिक्षा अधिकृत र प्राविधिक सहायक नहुँदा विभागीय जिम्मेवारी सम्हालेका व्यक्तिहरुबाट शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमा असर पर्ने हो की भन्ने जिज्ञासा राख्नुभयो । जवाफमा पालिका अध्यक्ष पोमू र पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले कासमुमा कुनै समस्या नरहेको र पालिका त्यसप्रति सम्बेदनशिल र जवाफदेहि रहेको बताउनुभयो ।

पालिकाका सेवाग्राहीले फुलवारीमा बनेको वडा कार्यालय भवनको उपयोगिता बारे वडाका जनप्रतिनिधिसंग जवाफ माग गरेका थिए । सेवाग्राहीको जिज्ञासाको उत्तर दिँदै आठराई त्रिबेणी गाउँपालिका वडा नं २ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङले नयाँ बनेको वडाको भवन मापदण्ड अनुकूल नरहेकोले वडा कार्यालयका लागि नयाँ भवन निर्माण हुने र यसअघि बनेको भवन सहकारी संस्था,सामाजिक संस्था वा आवास कक्ष वा अन्य कुनै प्रयोजनमा उपयोग गर्ने योजना रहेको सुनाउनुभयो । स्थानीय रमा लिम्बूले फुलवारीको पहिरेमा खानेपानीको समस्या रहेकोले उक्त समस्या समाधानका लागि पालिकाकोतर्फबाट सार्थक पहल लिनुपर्ने माग गर्नुभयो । जवाफमा पालिका अध्यक्ष पोमूले पानीको मुहान खोजीका लागि पालिकालाई सहयोग गर्न आग्रह गर्दै पाइप र धारा निर्माणमा औचित्य र आवश्यकताका आधारमा पालिकाले सहयोग गर्न कुनै कञ्जुस्याँई नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सेवाग्राही पेम्वा शेर्पाले कृषि क्षेत्रमार्फत स्वदेशमै रोजगारी सृजना बलियो सम्भावनालाई कायम राख्न कूल बजेटको कम्तिमा १५ प्रतिशत कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने माग गर्नुभयो । जवाफमा पालिका अध्यक्ष पोमूले आठराई त्रिबेणी गाउँपालिको कृषि,शिक्षा,स्वास्थ्य,खानेपानी र भौतिक पूर्वाधार सहितका कामहरुमा गरेको लगानी अरु भन्दा अब्बल रहेको दावी गर्दै आफ्ना आवश्यता र योजना मागमा किसानहरु थप उत्साहित हुनुपर्ने बताउनुभयो । पालिकाका अनुसार आठराई त्रिबेणीको चालू आर्थिक बर्षको कूल बजेट ५० करोड २२ लाख ९० हजार २ सय रुपैयाँ रहेको छ । त्यसमध्ये वित्तीय समानीकरणतर्फ मात्रै १० करोड २७ लाख रुपैयाँ रहेको छ । कार्यक्रममा सेवाग्राहीले पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शान्ताकुमारी आङवुहाङलाई न्यायिक समितिमार्फत भइरहेको चालू मुद्दा र फस्र्योट मुद्दा सहितका सवाल उठाएका थिए ।

आठराई त्रिबेणीको न्यायिक समितिका संयोजक समेत रहनु भएका उपाध्यक्ष आङवुहाङले आफुहरुसंग कानुनी परार्मशदाता नभएपनि जिल्लाका कानुन व्यवसायी र सरोकारवाला निकायसंग न्यायिक प्रकृया बुझेर मुद्दा बारे निर्णय हुने गरेको सुनाउनुभयो । सेवाग्राहीले पालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई पालिकामा कर्मचारीको दरबन्दी अनुसारको पदपूर्ति भए नभएको,कर्मचारी व्यवस्थापन प्रकृया,वडा सचिवको व्यवस्थापन सहितका बिषयमा जिज्ञासा राखेका थिए । पालिकाले बस्तु तथा सेवाको बितरण प्रकृया बारे सेवाग्राहीको गुनासो,राय तथा सुझाव ग्रहणका लागि पालिकाका ५ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्दै आइरहेको जनाएको छ । पालिका अध्यक्ष पोमूले आगामी आर्थिक बर्षमा समेट्नुपर्ने कार्यक्रम तथा योजना बारे जनताको राय लिने काम समेत भएको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts