| |

‘माओवादी २०८४ मा पहिलो पार्टी बन्छ’

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले २०८४ मा माओवादी पहिलो पार्टी बन्ने बताउनुभएको छ । विगतमा पार्टी र विभिन्न तहका नेतृत्वबाट भएको गल्तीबाट पाठ सिक्दै एकताबद्ध भएर अहिलेदेखि नै पार्टी सुदृढीकरणको अभियान सुरु भएकाले माओवादी पहिलो पार्टी बन्ने उहाँले दावी गर्नुभयो ।
जिल्लास्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रममा ताप्लेजुङ आउनुभएका नेता गजुरेलले माओवादीप्रति नै जनताको भरोसा रहेकोले २०८४ को निर्वाचनबाट पहिलो पार्टी बन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । माओवादी पार्टीका कोशी प्रदेश इन्चार्ज तथा पूर्वमन्त्रीसमेत रहनुभएका गजुरेलले पहिलो पार्टी बन्नेगरी सुरु भएको संगठन सुदृढीकरण अभियानमा एक ढिक्का र सक्रिय भएर लाग्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
२०६४ सालमा भएको पहिलो संविधासभाको निर्वाचनमा अत्यधिक सिट सङ्ख्याका साथ माओवादी पहिलो पार्टी बनेको स्मरण गर्दै नेता गजुरेलले त्यसबेला संविधान जारी गर्न नसक्नुसहितका केही कमजोरी भएकाले तेस्रो पार्टी हुनुपरेको बताउनुभयो । वाम गठबन्धनले पार्टीलाई फाइदा पुगेको भए पनि हतारमा पार्टी एकता गर्नु गल्ती भएको उहाँले बताउनुभयो । यस्तै सही ठाउँमा रहेर नेतृत्वलाई समर्थन नगर्नु र आलोचना पनि सही ठाउँमा रहेर नहुनुले पार्टी कमजोर भएको उहाँले बताउनुभयो ।
पार्टी र नेतृत्व पङ्तीबाट हुँदै आएको कमी कमजोरीका कारण माओवादीलाई समर्थन गर्ने जनतामा विस्तारै निरासा छाएको पनि उहाँले बताउनुभयो । जनतामा छाएको निरासाले राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह र हर्क साम्पाङहरुको उदय भएको उहाँको भनाइ छ । यिनै घटनाक्रम र अवस्थाको पार्टीमा गम्भीर समीक्षा गरी पार्टीले संगठन सुदृढीकरण तथा रुपान्तरण अभियान थालेको उहाँले बताउनुभयो ।
पार्टीले यसअघि सञ्चालन गरेको संगठन सुदृढीकरण रुपान्तरण अभियानले जनतामा उत्साह छाएको र जनताको भरोसा माओवादीप्रति नै देखिएकाले पुनः पार्टी मजबुद हुँदै गइरहेको उहाँले दावी गर्नुभयो । पार्टीको कोशी प्रदेश समितिले प्रदेशस्तरीय पुर्बेली सङ्गठन सुदृढीकरण अभियानले पनि माओवादी मजबुद बनाउनमा थप सहयोग पुगेको पाइएको उहाँले बताउनुभयो । पार्टीले सञ्चालन गरेको अभियानले माओवादी पहिलो पार्टी बन्ने सकारात्मक सङ्केतहरु देखा पर्दै गएकाले सबै तहका नेता कार्यकर्ता एक ढिक्का र सक्रिय भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पुर्बेली संगठन सुदृढीकरण अभियानअन्तर्गत माओवादीले सदरमुकाम फुङ्लिङमा सोमबार जिल्लास्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा माओवादीका कोशी प्रदेश सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, प्रदेश समिति अध्यक्ष हर्क नेम्बाङ, उपाध्यक्ष पृथ्वी किराँती उपस्थित हुनुभएको थियो । त्यस्तै अनुशासन आयोगका सदस्य इन्द्रकुमार श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्यहरु विजयप्रकाश वनेम, मिङमाडण्डु शेर्पा, पर्शुराम कार्की, प्रदेश समितिका सदस्यहरु लगायतका नेता सहभागी बन्नुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts