आठराई त्रिबेणीको १३ बुँदे शैक्षिक घोषणा पत्र,बिद्यार्थीको ९० प्रतिशत बढी हाजिरी भए अभिभावक सम्मानित हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २५ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ९० प्रतिशत भन्दा माथि बिद्यालयमा हाजिर हुने बिद्यार्थी तथा बिद्यार्थीका अभिभावकलाई सम्मान गर्ने भएको छ । एकदिने शैक्षिक भेलाबाट पालिकाले १३ बुँदे शिक्षा घोषणा पत्र जारी गरेको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो ।

घोषणा पत्रमा बिद्यालयमा कार्यरत सम्पूर्ण प्रधानाध्यापक,शिक्षक,वालविकास सहजकर्ता र बिद्यालय कर्मचारीहरु ९५ प्रतिशत भन्दा माथि हाजिर भई पठनपाठनमा संलग्न भएको अवस्थामा शिक्षक दिवसको दिन प्रोत्साहन गरिने उल्लेख छ । भेलामा सहभागी जनप्रतिनिधि,शिक्षक,अभिभावक,बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले बिद्यालयमा कुनैपनि दलगत राजनीति प्रवेश गर्न नदिने प्रतिबद्धता जनाउँदै घोषणा पत्रको समर्थन गर्नु भएको छ । यस्तै अहिले कायम रहेका गाउँ शिक्षा ऐन,नियमावली,कार्यविधि र निर्देशिकाहरु समयानुकूल परिमाजर्नन गर्दै लगिने घोषणा समेत गाउँपालिकाले गरेको छ ।

घोषणा पत्रमा प्रधानाध्यापकको छनौट प्रचलित कानुन,ऐन तथा नियमावली बमोजिम गरिने,शैक्षिक गुणस्तर बृद्धिका लागि योग्य,बिषयगत र प्रविधिमा दख्खल राख्ने शिक्षकको छनौट गरिने उल्लेख छ । बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघलाई बिद्यालयको प्रभावकारी अनुगमन तथा सुपरीवेक्षणका लागि आववश्यक तालिम तथा सीप प्रदान गरिने,गाउँपालिकाले शिक्षकको पेशागत सहयोग,सुपरीवेक्षण र निरीक्षण गरी पुरस्कार तथा दण्डको व्यवस्था गर्ने घोषणा गरिएको छ ।

बिद्यालयमा आर्थिक अनुशासन तथा पारदर्शीता कायम गर्न पालिका भरीका प्रत्येक बिद्यालयको आन्तरिक तथा अन्तिम लेखा परीक्षणलाई थप प्रभावकारी बनाई निरन्तरता दिने,बिद्यालय कर्मचारी,वाल विकास सहजकर्ता,प्रधानाध्यापक र शिक्षकको क्षमता विकास कार्यक्रमको योजना बनाई कार्यान्वयन तथा प्रभावकारी मापन गर्ने घोषणा पनि गरिएको छ ।

बिद्यालयको भौतिक पूर्वाधार,शैक्षिक,सामाजिक र आर्थिक पक्षलाई पूर्णतया वालमैत्री बनाउने,अभिभावक शिक्षा तथा सचेतनाका कार्यक्रम कार्यान्वयन गरिने तथा बिद्यालयको मातहतमा रहेको भौतिक,नगदी,जिन्सी तथा साझेदार संस्थाहरुमार्फत भएका कामहरुको अनुगमन तथा नियमनलाई प्रभावकारी बनाइने घोषणा गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts