ताप्लेजुङ जिल्ला लिग ः सिसास र नवप्रयास ‘ए’ डिभिजनमा बढुवा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २३ । ताप्लेजुङमा रहेका ‘बी’ डिभिजनका ८ वटा क्लवमध्ये सिर्जनशील सामाजिक समाज खोक्लिङ(मिक्वाखोला) र नवप्रयास युवा क्लव हाङदेवा(फुङलिङ) ‘ए’ डिभिजनमा बढुवा भएका छन् ।

जिल्ला लिग फुटबल प्रतियोगिता अन्र्तगत ‘बी’ डिभिजनको खेलबाट उत्कृष्ट दुईमा पर्ने उल्लेखित दुई क्लवका फुटबल टिम ‘ए’ डिभिजनमा बढुवा भएका हुन् । बाँकी ६ टिम ‘बी’ डिभिजन रहने छन् । ‘बी’ डिभिजन लिगको उपाधि भने सिसास समाज खोक्लिङले हात पारेको छ । उसले नवप्रयासलाई ५–० ले स्तब्ध पार्दै उपाधि रक्षा गरेको हो । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार तथा उपबिजेताले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । ‘ए’ डिभिजनमा रहेका ६ वटा क्लवबीचको जिल्ला लिग भने भइरहेको छ । आठराई त्रिबेणी गाउँपालिको वडा नं ५ चाँगेस्थित चाँगे माविको खेल मैदानमा भइरहेको ‘ए’ डिभिजन लिगका खेलमा पुछारमा रहने दुईटिम ‘ए’ डिभिजन बाट ‘बी’ डिभिजनमा घटुवा हुने छन् । बाँकी ४ टिम भने यथास्थानमा रहने छन् ।

ताप्लेजुङ जिल्ला फुटबल संघका महासचिव दिनेश खवासका अनुसार यहाँ ‘ए’ डिभिजनमा ६ तथा ‘बी’ डिभिजनमा ८ गरी फुटबलका १४ वटा क्लव रहेका छन् । ‘ए’ डिभिजन लिगको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जिल्ला फुबटल संघले आयोजना गरेको जिल्ला लिगको मुख्य प्रायोजक भने आठराई त्रिबेणी गाउँपालिका रहेको छ । जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङका अनुसार यसपटकको लिगमा ताप्लेजुङ बाहेक अन्य जिल्लाका खेलाडीलाई क्लवमा आवद्ध गरी खेलाउन बन्देज गरिएको छ । लिग खेलका लागि ताप्लेजुङ जिल्लाको अस्थायी र स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्ने नियम लगाईएको छ । ताप्लेजुङ जिल्लाका फुटबल खेलाडीको उत्पादन तथा उनीहरुको क्षमता मापन गरी जिल्लागत क्लवहरुको उच्चतम् प्रतिश्पर्धालाई ख्याल गरेर‘रेलिगेसन वा प्रोमोसन’को अवसर प्रदानका लागि यो व्यवस्था लागु गरिएको अध्यक्ष चेम्जोङले बताउनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts