‘साझा प्रयासबाट मात्र सूर्तिजन्य पदार्थ तथा मद्यपान सेवन नियन्त्रण सम्भव’
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १८ । संयुक्त प्रयासबाट सूर्तिजन्य पदार्थ तथा मद्यपान सेवन नियन्त्रण तथा नियमन सम्भव हुने ताप्लेजुङमा शुक्रवार आयोजित कार्यक्रममार्फत औंल्याईएको छ ।
स्वास्थ्य कार्यालय ताप्लेजुङले विश्व धूमपानरहित दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममार्फत यस्तो निश्कर्ष निकालिएको हो । कार्यक्रममा ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर ओमप्रकाश थापा मगरले सूर्तिजन्य पदार्थ तथा मद्यपान सेवन नियन्त्रण तथा नियमन संयुक्त प्रयासको माध्यमबाट हल गर्न सकिने बताउनुभयो । जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर खेमराज बस्नेतले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि परिवारका प्रत्येक सदस्य देखि समाजका सबै सदस्यको भूमिका अहम् हुने बताउनुभयो । कार्यक्रममा सूर्तिजन्य पदार्थ तथा मद्यपान सेवन नियन्त्रण तथा नियमन,यसको प्रयोगबाट हुने हानी र नियन्त्रणका प्रयास बारे फुङलिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले प्रकाश पार्नु भएको थियो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख उदयनारायण दुलाले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने सूर्तिजन्य पदार्थ तथा मद्यपान सेवन नियन्त्रणका लागि साझा प्रयास र एकताको खाँचो औंल्याउनुभयो । कार्यक्रममा सञ्चारकर्मी तथा लिटलबुद्ध बोर्ङिङ स्कुलका बिद्यार्थीहरुले मद्यपान तथा धूमपान नियन्त्रणका लागि कसको के भूमिका हुन्छ भन्ने जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेसविका,भानुजन मावि र लिटलबुद्ध बोर्डिङका शिक्षक तथा बिद्यार्थी,स्वास्थ्यकर्मी,सञ्चारकर्मी र जनस्वास्थ्यका क्षेत्रका काम गर्ने व्यक्तित्वहरुको सहभागिता रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन सुपरभाइजर दिनेश रायले जानकारी दिनुभयो ।
सन् १९८७ मा विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुले सूर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपान रहित दिवसको स्थापना गरेका थिए । सन् १९८८ अप्रिल ७ मा विश्व धूमपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि हरेक बर्षको मे ३१ तारिखलाई विश्व धूम्रपानरहित दिवसको रुपमा मनाउन थालिएको हो । विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सूर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ । करिब ७० लाख मानिसले प्रत्यक्ष सेवन गर्ने गर्छन् भने लगभग १२ लाख मानिसलाई अप्रत्यक्ष अर्थात वातावरणीय असर हुने गरेको पाइन्छ ।
नेपाल धूमपान गर्ने राष्ट्रहरुमध्ये २२ औं स्थानमा पर्दछ । नेपालमा कूल जनसंख्याको लगभग ३० प्रतिशत मानिसहरुले धूमपान गर्ने गर्छन् । धूमपानले श्वासप्रश्वास र मुटुको स्वास्थ्यमा हानिकारक प्रभाव पार्ने गर्छ । धूमपानले आँखामा समेत असर गर्छ । यसले आँखामा म्याकुलर डिजेनेरेशनको जोखिम तथा मोतियाबिन्दुको समस्या सृजना गर्छ । यसबाहेक मधुमेह भएका बिरामीलाई धूमपानले गम्भिर असर पु¥याउँछ ।