|

साहित्यकार जगमोहन शाक्यकोे ९२ औं जन्मजयन्ति तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १६ । ताप्लेजुङको फुङलिङमा बुधवार साहित्यकार जगमोहन शाक्यकोे ९२ औं जन्मजयन्ति तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वर्गीय शाक्यले नेपाली साहित्य तथा संगित क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा साहित्य सृजनामा सक्रिय व्यत्तित्वहरुले आ–आफ्नो सृजना वाचन गर्नु भएको थियो । सृजना वाचनको क्रममा समेत स्वर्गीय शाक्यको स्मरण तथा उहाँको साहित्य साधना झल्कने प्रस्तुति अभिव्यक्त भएका थिए ।

शाक्यले २०१० सालमा हस्तलिखित कविताद्धारा साहित्य यात्रा सुरु गर्नु भएको थियो । २०१५ सालमा उहाँले ‘उपहार’ कथा संग्रह प्रकाशित गर्नुभयो । २०१८ सालको उहाँले ‘बाह्र मसला’ कथा संग्रह प्रकाशित गर्दै प्रकाशित कृतिको संख्या दोब्बर बनाउनुभयो । २०४९ सालमा ‘जिन्दगीका फाँटहरु’प्रकाशित गर्नु भएका उहाँले २०५८ सालमा गीत र गजल संग्रहको रुपमा ‘मनका उच्छवास’प्रकाशित गर्नु भएको थियो । ‘हारेको सपना’कथा संग्रह सहित उहाँका ६ वटा कृति प्रकाशित भए । जीवनको उतारार्ध समयमा‘गौरी शंकर’खण्डकाब्य तयार गर्नु भएका उहाँको सो कृति भने प्रकाशन भएन ।

बुवा नरबहादुर र आमा ललितमायाका सुपुत्र शाक्यको बिक्रम सम्वत् १९९० साल जेष्ठ १६ गते भएको जन्म थियो । मूल थातथलो संखुवासभाको चैनपुरबाट २००९ सालमा जगमोहनका बुवा नरबहादुले ताप्लेजुङको फुङलिङ आएर व्यपार–व्यवसाय सुरु गर्नुभयो । साहित्य र संगित क्षेत्रका उम्दा व्यत्तित्व मानिने जगमोहनकै पहलमा ताप्लेजुङको साहित्य क्षेत्रमा इटाँ थप्ने मनशायले कञ्चनजंघा साहित्यिक प्रतिष्ठान समेत गठन भइ हाल सम्म निरन्तर र सक्रिय संस्थाको रुपमा जीवन्त छ । उहाँ सो प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत हुनु भएको थियो । उहाँको २०६६ सालमा मृत्यु भएको थियो । उहाँका तीन छोरा र एक छोरी रहनु भएको छ । उहाँकी श्रीमति शोभालक्ष्मीको भने २०५७ सालमै निधन भएको थियो ।

शाक्यकी बहिनी किरण शाक्य(पन्त)चर्चित कथाकार हुनुहुन्छ । बन्धनमुक्त(कथा संग्रह,२०२०),दीपमाला(एकाङ्की नाटक,२०३३) र उज्यालो भबिष्यको पर्खाइमा(कथा संग्रह,२०६६)को प्रकाशनका साथै विभिन्न पत्रपत्रिकामा उहाँका कथा,लेख,निवन्ध र रचना प्रकाशित भएका छन् । बुवा नरबहादुर पछि किरणको साहित्यिक यात्राको प्रेरणाका एक साधक दाजु जगमोहन नै हुनुहुन्थ्यो । दाजुहरु सरोजकुमार र किशोरले साहित्य यात्रा अघि बढाउन किरणलाई बल पु¥याएको मानिन्छ । जगमोहनको परिवारमा बुवा नरबहादुर आफैंले साहित्य र संगितको जग बसाउनु भएको थियो । सरोजकुमार पनि गीत तथा साहित्य सृजनाका अब्बल व्यत्तित्वमा पर्नुहुन्छ । कुनै समय नेपालका कुना कन्दरामा गुञ्जनले‘तिरीरि मुरली बज्यो वनैमा……..’गीतका सर्जकनै सरोजकुमार हुनुहुन्छ ।

नाटक र संगितका अब्बल साधक मानिने नरबहादुर तत्कालिन अवस्थामा चैनपुरका स्थापित संगितिज्ञ हुनुहुन्थ्यो । नरबहादुरले संगित सिक्ने इच्छबाट प्रेरित भई पहाडी क्षेत्र चैनपुरबाट हिंडेर ललितपुर पुगि उतिबेलामा चर्चित संगित ओस्ताज गणेशलालको घरमै बसी प्राप्त गरेको संगितकलाको ज्ञान चैनपुरका युवाहरुलाई अनुभवको रुपमा साट्ने गर्नु भएको थियो । त्यही प्रेरणाले जगमोहन र उहाँकी बहिनी किरणको साहित्यिक लगाव कसिलो भएको बिभिन्न साहित्यिक पत्रपत्रिकामा उल्लेख छन् ।

कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई सहितले स्वर्गीय शाक्यको साहित्यिक योगदानको चर्चा गर्दैशाक्यले सामाजिक क्षेत्रमा पु¥याएको सहयोगको स्मरण गर्नु भएको थियो । कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय शाक्यका छोरा सुन्दरमोहन तथा बुहारी सुष्माले आफ्ना बुवाबाट पाएको प्रेरणाले आफुहरुलाई सामाजिक कार्यमा अग्रसर हुन प्रेरित गरेको बताउनुभयो । कार्यक्रममा साहित्यस्रष्टा तथा पाथीभरा बहुमुखी क्याम्पसका सह–प्राध्यापक शान्तिराम नेपालले जगमोहनको साहित्यिक यात्रा र कृति सृजनाका आयाम बारे प्रकाश पार्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts